पर्यटन प्रवर्द्धनका लागि नौथर सेरा, इलमपोखरी, लिपे, दाम्राङ, नौथरसेरा पदमार्गको खोजी
जनक श्रेष्ठ/लमजुङ

लमजुङको नौथर सेरा, इलमपोखरी, लिपे, दाम्राङ हुँदै नौथरसेरा पदमार्ग प्रवर्द्धन गर्न यसको खोजी तथा अनुसन्धान कार्य अघि बढाइएको छ ।
पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा रहेको यस पदमार्गको प्रवर्द्धन गर्न शुक्रबारदेखि दोर्दी गाउँपालिका र पर्यटन व्यवसायीले पदयात्रा गर्दै खोज तथा अनुसन्धान गर्न थालेका हुन् ।
यहाँ ग्रामीण पर्यटकीय सम्भावना उच्च रहेकाले यस पदमार्गलाई पर्यटकीय गन्तव्य बनाउन अनुसन्धानमा स्थलगत खटिएर लागेको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।
उनले भने, ‘यस पदमार्गलाई पर्यटकीय पदमार्ग बनाउँदै पर्यटक आकर्षित गर्न सकेमा यहाँका स्थानीयको आर्थिक तथा रोजगारीको वातावरण सृजना हुने र समृद्ध पालिका निर्माणमा समेत सहयोग पुग्नेछ ।’
दोर्दी गाउँपालिकाको सहयोगमा ट्रेकिङ एजेन्सी एसोसियसन अफ -टान) गण्डकी प्रदेश समितिको आयोजना तथा नेपाल पर्यटक बोर्डको प्रवर्द्धनमा शुक्रबारदेखि आगामी सोमबारसम्म उक्त कार्य जारी रहने बताइएको छ ।
यस यात्रामा गाउँपालिकाका अध्यक्ष अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले, टान गण्डकी प्रदेश समितिका अध्यक्ष धर्मराज पन्थी, नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा, व्यवसायी लगायत २५ जनाको टोलीले चक्रीय पदमार्गको यात्रा थालेका छन् । उक्त टोलीले चक्रीय पदमार्ग, पर्यटकीय सम्भावना तथा भौगोलिक अवस्थाबारे अध्ययन अवलोकन गर्नेछन् ।
टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यको संयोजनमा रहेको टोलीले चक्रीय पदमार्गको पहिलो दिन शुक्रबार नौथरसेराबाट इलमपोखरीमा पुगेर क्याम्पिङ गरेका थिए । आज त्यहाँबाट हिडेर ‘लिपे लेक’मा पुगेर त्यहाँ क्याम्पिङ गरेर बास बस्ने र आइतबार दाम्राङ पुग्ने योजना रहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।
्दोर्दी गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता राखेसँगै ओझेलमा परेका र सम्भावित पर्यटकीय क्षेत्रहरुको खोजी तथा अनुसन्धानलाई त्रि्रता दिन थालेको हो । यहाँका पर्यटकीय क्षेत्रहरु जुर्माउन थाल्दा पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।










