भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन

रासस/स्याङ्जा

भारतीय सेनाबाट र्फकनुभएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आउनुभएको छ । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश र्फकनुभएका स्याङ्जाको पुतलीबजार-१० राङखोला निवासी उहाँले आरनको कामलाई व्यावसायिकरुपमा अगाडि सञ्चालन गर्दै आउनुभएको छ ।

“अवकाश भएर गाउँ फर्किएपछि केही व्यवसाय सञ्चालन गर्ने सोच पलायो”, विश्वकर्माले भन्नुभयो, “गाउँमा आएपछि दुइ वर्ष केही गरिन र अन्तिममा आरनलाई नै व्यावसायिकरुपमा अगाडि बढाउने टुङ्गोमा पुगें ।” हाल ६५ वर्ष पुग्नुभएका उहाँले सानै उमेरदेखि आफ्नो बुबाबाट सिक्नुभएको सीप सदुपयोग गर्दै आरनलाई नै व्यावसायिकरुपमा विगत २५ वर्षदेखि सञ्चालन गर्दै आउनुभएको छ ।

“बुबा आरन व्यवसायमा यो क्षेत्रकै नामुद हुनुहुन्थ्यो, बुबाबाट धेरै सीप सिकेको थिएँ”, विश्वकर्माले भन्नुभयो, “बुबाबाट सिकेको सीपले नै आज परिवार पाल्दै आएको छु, आम्दानीको मुख्य स्रोत नै आरन नै हो ।” आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो यसमा नभएको उहाँको भनाइ थियो । पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ ।

“घन पिट्ने नै हो भने किन पढ्न पर्‍यो, पढेपछि त सोही अनुसारको जागीर गर्नुपर्‍यो नि भन्ने बुझाइ समाजमा छ”, विश्वकर्माले भन्नुभयो, “आरन व्यवसाय गर्नेप्रति समाजको दृष्टिकोण, श्रमको सम्मान नहुनुजस्ता कारणले भोलिका दिनमा यो व्यवसाय हराउँदै जाने निश्चित छ।” पुस्तौँदेखि चल्दै आएको आरन आफूले काम गर्न सक्दासम्म मात्रै रहने र नसक्दाको दिनदेखि स्वतः आफ्नो पुस्ता तथा परिवारबाट हराउने उहाँको भनाइ थियो ।

पहिला परम्परागतरूपमा आरन सञ्चालन हुने गरेकामा अहिले आधुनिक प्रविधिको प्रयोगले काममा केही सहज बनाएको छ । आरन सीप र बलको काम हुने भएकाले बलको काम गर्नुपर्दा अरुको सहयोग लिने गरेको विश्वकर्माले बताउनुभयो । “पहिला जङ्गलमा रुख काटेर गोल बनाइन्थ्यो, काठ सित्तैमा पाइन्थ्यो”, उहाँले भन्नुभयो, “हिजोआज काठ काट्न नपाउँदा कोइलाको पनि समस्या हुँदै आएको छ। रक्सी तथा कुँडो पकाउन बालिएका दाउराको गोल किनेर व्यवसाय सञ्चालन गर्दै आएको छु ।”

पहिलेदेखि यहाँ बनाइएका औजार टिकाउ र राम्रो हुने छाप परेकाले अहिले पनि पाल्पा, पर्वत र कास्कीका विभिन्न ठाउँबाट औजार तथा भाँडा बनाउन आउने गरेका विश्वकर्माले बताउनुभयो । “हतियार बनाउनका लागि फलाम पिट्दादेखि धारको लेबल मिलाउन, पाइनको प्रयोगसम्म ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “पाइन पाँच प्रकारका हुन्छन्, धारलाई बलियो बनाउने पाइनले हो, पाइनको प्रयोग जो पायो उसैले लगाउनै जान्दैनन् त्यसैले औजार टिकाउ हुँदैन ।”

‘छबबहादुर विक फलाम उद्योग’ नामको उद्योग दर्ता गरेर व्यवसाय गर्दै आउनुभएका विश्वकर्मा विभिन्न किसिमका भाँडाकुँडाका साथै चक्कुदेखि खुँडासम्म बनाउनुहुन्छ । न्यूनतम तीनसयदेखि अधिकतम रु सात हजारसम्म एउटै औजार तथा भाँडाबाट आम्दानी हुन्छ । नयाँ भाँडाकुँडा तथा औजार बनाउने र पुराना मर्मत गर्दा पनि मासिकरुपमा सबै खर्च कटाएर रु एक लाखभन्दा बढी उहाँ बचत गर्नुहुन्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker