व्यास नगरपालिकाद्वारा वडा नं. १० दुम्सीमा कृषि उपज संकलन केन्द्र सञ्चालन

दमौली : तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दुध, तरकारी, फलफूल लगायतका कृषि उपज संकलन गरी सहज रूपमा बजारीकरण गन केन्द्र स्थापना गरिएको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलले केन्द्रको मंगलबार उद्घाटन गर्दै यस प्रकारका संकलन केन्द्रहरूमार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस भन्नेमा चिन्तित भएकोले केन्द्र सञ्चालनको लागि आर्थिक सहयोग गरिएको नगर प्रमुख न्यौपानेको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दुध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्ने गरी उत्पादनमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा वडाअध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबाली लगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न मद्दत पुग्ने बताए ।
निवर्तमान वडाअध्यक्ष तुलसीराम सापकोटाले व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि आफ्नो कार्यकालमा निर्माण कार्य सुरु गरिएकोमा हाल सञ्चालनमा आउँदा खुसी लागेको बताए ।
कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएको सोही ठाउँस्थित शिसुवा भतेरी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
कार्यक्रमको अवसरमा केन्द्र निर्माणमा योगदान दिएको भन्दै भवन निर्माण उपभोत्ता समितिका अध्यक्ष गोपाल सापकोटालाई सम्मान गरिएको थियो ।
व्यास नगरपालिकाको ३५ लाख ५१ हजार सहयोग र बाँकी जनश्रमदान गरी ४० लाख ७४ हजार ३५९ रुपैयाँ लागतमा निर्माण गरिएको समितिका सचिव भरत केसीले जानकारी दिए । सोही ठाउँस्थित शिव माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले केन्द्र निर्माण भएसँगै खेर गएको साढे तीन रोपनी सार्वजानिक जग्गाको सदुपयोग भएको बताए ।
साथै रिजालले केन्द्रले निर्वाहमुखी किसानलाई व्यवसायिक बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । केन्द्र सदरमुकाम दमौली बजार नजिकै रहेकोले यहाँ छरिएर रहेको उपजको संकलन गरी बजारसम्म पु¥याउन सहज हुने विश्वास गरिएको व्यास नगरपालिका–१० का वडा सदस्य यज्ञप्रसाद शर्माले बताए । केन्द्रका आठ वटा सटरमा चार वटा कोठा बनाई दुध, तरकारी तथा फलफूल, माछामासु र दाना बिक्री कक्षा सञ्चालन गरिएको छ ।