भानु बोका प्रदर्शनी, उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान

भानु : तनहुँको भानु नगरपालिकामा एक कार्यक्रमका बीच उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान गरिएको छ । चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभञ्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी उत्कृष्ट किसानलाई सम्मान गरिएको हो ।
उक्त प्रतियोगितामा स्थानीय जाततर्फ भानु नगरपालिका–५ का चोपकान्त पोख्रेल प्रथम हुँदै नगद १० हजार रुपैयाँसहित सम्मानित भएका छन् । उन्नत जाततर्फ भानु नगरपालिका–९ का मानसिंह गुरुङ प्रथम भई नगद १० हजार रुपैयाँ सहित सम्मानित भएका छन् । स्थानीयतर्फ बिमला अधिकारी र उन्नततर्फ काजी थापा द्वितीय भएका छन् भने स्थानीयतर्फ रोमनबावु अधिकारी र उन्नततर्फ रामबहादुर गुरूङ तृतीय भएका छन् । स्थानीयतर्फ काजीराम अधिकारी र उन्नततर्फ तिलकुमारी अधिकारीले सान्त्वना पुरस्कार प्राप्त भएका छन् ।

स्थानीय र उन्नतमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः जनही रु. १० हजार, आठ हजार, छ हजार र चार हजार नगदसहित सम्मान गरिएको थियो । उत्कृष्ट किसानलाई भानु नगरपालिकाको प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु कँडेल, नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी, महासचिव तारानाथ पौडेल, गण्डकी प्रदेशका अध्यक्ष यामप्रसाद आचार्य लगायतले पुरस्कृत गरेका थिए ।
उत्कृष्ट किसानलाई सम्मानपत्र प्रदान गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपालको आर्थिक समृद्धि कृषिबाट हुने भएकाले किसानलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरिएको बताए । यस्तै, कार्यक्रमका वक्ताहरुले वास्तविक कृषकलाई सरकारले उपेक्षा गरेको चर्चा गर्दै झोले कृषकलाई अनुदान दिन नहुनेमा जोड दिएका थिए ।

‘पोसिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’ मुल नाराका साथ चौथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका–५ स्याउली पसलमा उन्नत तथा स्थानीय बोका प्रदर्शनी र प्रतियोगिता गरिएको थियो । प्रदर्शनीमा बाख्राबाट उत्पादन हुने परिकारको प्रदर्शनी, बाख्राको सुधारिएको मलको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा भानु नगरपालिकाको १३ वटै वडाका किसानको सहभागिता रहेको भानु नगरपालिकाका कृषि शाखाका प्राविधिक तिलक कट्टेलले बताए ।










