तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दाका १९ जना पक्राउ

- भञ्ज्याङ समाचारदाता (दमौली)
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तर्गत उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीले जबरजस्ती करणी मुद्दामा बिगत १ बर्ष देखि फरार रहेका शुक्लागण्डकी-१ थप्रेक बस्ने बर्ष ४९ को सुक बहादुर दमाई उपर तनहुँ जिल्ला अदालतको मिति २०७६ असार २३ गतेको फैसलाले ५ बर्ष कैद तोकेको थियो।
यस्तै, अबैध सालको काठ ओसार पसार मुद्दामा ७ बर्षदेखि फरार रहेका शुक्लागण्डकी-१ थप्रेक बस्ने बर्ष ३० को निरज सुनार उपर तनहुँ जिल्ला अदालतको मिति २०७० चैत्र ०८ गतेको फैसलाले १ बर्ष कैद रहेको छ ।
त्यसै गरी सवारी ज्यान मुद्दामा ५ जना, जालसाजी मुद्दामा ३ जना, लुटपिट मुद्दाका ३ जना, सम्बन्ध बिच्छेदका २ जना, बहुबिवाहका १ जना, कुलोपानी खिचोलोका १ जना, लिखत बेइजतीका १ जना, घरेलु हिंसाका १ गरी १९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरिएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् । पक्राउ परेकाहरुबाट तोकिएको जम्मा ६ बर्ष ७ दिन कैद र ८ हजार ७६१ रुपैयाँ जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।