आदिकवि भानुभक्त माविका विद्यार्थी र व्यास नगर प्रमुखबीच अन्तरक्रिया

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार दिउँसो व्यास नगरपालिकाका नगर प्रमुखसँग अन्तरक्रिया गरेका छन् । सामाजिक विषय अन्तर्गतको व्यवहारिक सिकाइ शृंखलाअनुसार स्थलगत अध्ययन भ्रमणका लागि कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षकहरू व्यास नगरपालिका–२, दमौलीस्थित नगरपालिकाको कार्यालय पुगेका थिए ।
स्थानीय शासनको कार्यप्रणाली, निर्वाचित जनप्रतिनिधिहरूको भूमिका तथा स्थानीय विकासमा नगरपालिकाको भूमिकाबारे प्रत्यक्ष जानकारी लिनु भ्रमणको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ ।
भ्रमणका क्रममा विद्यार्थीहरूले नगरपालिकाले सम्पादन गर्ने कार्यहरू, सार्वजनिक सेवा प्रवाह, योजना निर्माण प्रक्रिया तथा नागरिक सहभागितासम्बन्धी विषयमा अवलोकन र अध्ययन गरेका थिए । यस भ्रमणले कक्षाकोठामा सिकेका सैद्धान्तिक विषयलाई व्यवहारसँग जोड्न तथा व्यास नगरपालिकाको वास्तविक शासन प्रणाली बुझ्न मद्दत पुगेको सहभागीहरूले बताएका छन् ।
भ्रमण टोलीको नेतृत्व कक्षा ९ र १० का संयोजक प्रदीप थापाले गरेका थिए भने सामाजिक विषयका शिक्षक धनबहादुर थापा ‘अनुराग’ले सहजीकरण गरेका थिए । भ्रमणमा करिब ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
अवलोकन भ्रमणपछि नगर हलमा आयोजित अन्तरक्रियामा विद्यार्थीहरूले व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, नगर शिक्षा अधिकारी केदारप्रसाद आचार्य तथा शिक्षा अधिकृत नवीन तिवारीसँग नगरपालिकाको गठन प्रक्रिया, निर्वाचन प्रणाली, नगरपालिका तथा वडा कार्यालयका बजेट र कार्यक्रम, सेवा प्रवाहका क्षेत्रहरू तथा शिक्षा नीति, नियम र प्रक्रियाबारे जिज्ञासा राखेका थिए। नगर प्रमुख तथा अधिकारीहरूले विद्यार्थीका प्रश्नहरूको स्पष्ट उत्तर दिएका थिए ।
आदिकवि भानुभक्त माध्यमिक विद्यालय आदिकवि भानुभक्त क्याम्पसद्वारा सञ्चालनमा ल्याइएको शैक्षिक संस्था हो, जहाँ कक्षा ९ देखि १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ ।










