विपन्नको स्वास्थ्य उपचारमा गाउँपालिकाको आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँवुखैरेनी गाउँपालिकाले उपचारका लागि आर्थिक अभाव झेलेका विपन्न समुदायलाई आर्थिक सहयोग उपलब्ध गराउन थालेको छ ।
गाउँपालिकाले समस्यामा पर्नुभएकी मिनमाया थापालाई आर्थिक सहयोग गर्नुका साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । आर्थिक अभावले उपचारमा कठिनाइ नहोस् भन्नका लागि गाउँपालिकाले बनाएको कार्यविधि अनुसार उहाँलाई उपचार खर्च प्रदान गरिनुका साथै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको हो ।
हेमोडायलासिसका साथै अन्य उपचार गर्नका लागि आर्थिक अभावमा छटपटाइरहनुभएकी ती महिलालाई गाउँपालिकाले रु ५० हजार र अध्यक्ष शुक्र चुमानले व्यक्तिगतरूपमा रु १० हजार सहयोग गर्नुभएको छ ।
यसका साथै गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत उहाँलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्याएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद साहले जानकारी दिनुभयो । “हिजो राति ८ बजे उहाँलाई लिएर अस्पतालमा भर्ना गराएर उपचार गरायौ, उहाँको स्वास्थ्य अवस्था राम्रो भएको छ”, उहाँले भन्नुभयो ।
आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि गाउँपालिकाले विपन्नलाई सहयोग गर्दै आएको छ । “पैसा नभएर रोग लुकाउन बाध्य हुने, पैसा नभएर उपचार गर्नबाट बञ्चित हुनेलाई लक्षित गरी गाउँपालिकाले आर्थिक सहायता दिने नीति लिएको छ”, अध्यक्ष चुमानले भन्नुभयो ।










