दमौलीमा मगर माघे सकराटी (तस्विरहरु)
नारायण खड्का/तनहुँ

आदिवासी मगर समुदायले आज माघे सकराटी/संक्रान्ति पर्व धुमधामका साथ मनाइरहेका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सकराटी/संक्रान्ति भन्ने गरिन्छ ।
यस अवसरमा दमौली तथा मगर समुदायको बसोवास रहेका तनहुँका १० वटै पालिकामा झाँकीसहितको ¥याली तथा विविध कार्यक्रम गरी मगर माघे सकराटी पर्व मनाइएको छ ।
“संघीय लोकतान्त्रिक गणतन्त्रको मूलआधार, आत्मनिर्णयको अधिकार सहित मगरात स्वायत्त प्रदेश स्थापना र अधिकार” भन्ने नाराका साथ यस वर्ष मगर समुदायले माघे सकराटी पर्व मनाएका छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँ तथा जिल्लाका १० वटै पालिकामा रहेका नगर तथा गाउँ समितिहरुले जातीय पहिचान झल्कने भेषभूषामा सजिएर बाँजागाँजासहित साँस्कृतिक ¥याली प्रदर्शन तथा विविध कार्यक्रम गरी शुभकामना आदानप्रदान, विचारहरु व्यक्त गरेका छन् । मगर समुदायले मौलिक संस्कृतिलाई थप प्रवद्र्धन गर्न माघे सकराटीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन यस्ता कार्यक्रमले महात्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपालको प्रायः सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे सकराटी चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने साकराटी आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम÷पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन्।
मौलिक कला–संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैंस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् । माघे साकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने प्रचलन छ ।
यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाइहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौं पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने प्रचलन रहदै आएको छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिंडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर–घरमा पठाइदिने पनि प्रचलन रहदै आएको छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार हो ।
मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पीङ खेल्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइ सर्ने पनि गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने बताउँछन् ।
यस्तै, आजदेखि सूर्य उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
धर्मसिन्धुमा माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।