छिम्केश्वरीको विकासका लागि मनकामना र इच्छाकामनासँग जोडेर लैजानुपर्छ : सांसद डा वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति एवं तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीको विकासका लागि मनकामना र इच्छाकामनासँग जोडेर लैजानुपर्नेमा जोड दिनुभएको छ ।
आँबुखैरेनी गाउँपालिकाले आज यहाँ आयोजना गरेको ‘छिम्केश्वरी पर्यटन पूर्वाधार विकासले पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आँबुखैरेनी–५ मा अवस्थित छिम्केश्वरी पर्यटन प्रवद्र्धनका लागि पालिकाले थालेको प्रयास सराहनीय रहेको बताउँदै भन्नुभयो, “छिम्केश्रीको महिमा र गरिमा महत्वपूर्ण छ, छिम्केश्वरीलाई मनकामनाकै हाराहारीमा हो भन्ने ‘ब्रान्ड’ स्थापित गर्न लाग्नुपर्छ ।”
छिम्केश्वरीलाई केन्द्रविन्दु बनाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चालिएको अभियानमा सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मनकामना आएका भक्तजनलाई छिम्केश्वरी ल्याउन सकिए यस क्षेत्रको विकासमा सहयोग पुग्ने चर्चा गर्नुभयो । गाउँ रित्तिँदै गएकाले पर्यटन प्रवद्र्धनमार्फत गाउँ गुल्जार गराउने अभियानमा सबै लाग्नुपर्ने बताउँदै डा वाग्लेले भन्नुभयो, “पर्यटनमार्फत स्थानीयको आर्थिकस्तर उकास्न सम्भव छ, यसतर्फ पनि स्थानीय तहले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ ।”
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै यहाँका स्थानीयको आर्थिकस्तर उकास्ने उद्देश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको बताउनुभयो । आँबुखैरेनी–५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ ।
छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ, त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।” गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको अध्यक्ष चुमानको भनाइ छ ।
उहाँले सङ्घीय, प्रदेश तथा स्थानीय तहको सरकारको साझेदारी, आम जनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरिएको बताउनुभयो । छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क समस्याका रुपमा रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने बताउनुभयो । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको बताउँदै चुमानले खानेपानीको बजेट स्रोत भएर डिपिआर गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker