सम्पादकीय : फोहोर व्यवस्थापनमा सक्रिय शुक्लागण्डकी
शहरी क्षेत्रमा अहिले फोहोर व्यवस्थापनको पाटो निकै जटिल बन्दै गएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले यस जटिलतालाई सहज बनाउन फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान दिन आधुनिक प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुर्याएको छ। लामो समयदेखि सेती नदी किनारमा फोहोर थुपारेर आलोचना खेप्दै आएको नगरपालिकाले अब फोहोरलाई व्यवस्थित प्रशोधनमार्फत आर्थिक स्रोतमा बदल्ने तयारी गरेको छ । वडा नं. ५ को कसेरीमा अत्याधुनिक उपकरणसहितको प्रशोधन केन्द्र असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यसका लागि नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच गत बैशाखमा भएको त्रिपक्षीय सम्झौताले परियोजनालाई ठोस आधार दिएको छ। सम्झौताअनुसार सूर्य नेपालले करिब २ करोड ४ लाख रुपैयाँको लगानीमा पूर्वाधार निर्माण तथा आवश्यक मेसिनरी उपलब्ध गराउँदैछ भने फोहोर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडले लिनेछ ।
यो केन्द्र सञ्चालनमा आएपछि नगरको पुरानो फोहोर समस्या अन्त्य हुने देखिन्छ। नगरपालिकाले टोल विकास संस्थासँग सहकार्य गर्दै घरमै फोहोर वर्गीकरण गरी संकलन गर्ने योजना अघि बढाएको छ । यसले न केवल नगर सरसफाइमा सुधार ल्याउनेछ, बरु प्रशोधित फोहोरबाट आम्दानी पनि गर्न सकिनेछ। हाल निर्माणाधीन केन्द्रमा भेर्मी कम्पोस्ट पिट, अर्गानिक र डिस्पोजल वेस्ट ट्रष्ट, प्लेटिजिङ र प्रिसटिङ एरिया, प्रशोधन केन्द्र, विद्युतीय घर, शौचालय, क्यान्टिन, कार्यालय र सुरक्षाकर्मी घरलगायत ११ युनिट निर्माण भइरहेको छ । सडक, विद्युत् र खानेपानी जस्ता आधारभूत पूर्वाधारको काम पनि सँगसँगै अगाडि बढाएको नगरपालिकाले आउँदो असोज महिनादेखि प्रशोधन कार्य औपचारिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । यसअघि पनि नगरपालिकाले फोहोरमैला केन्द्रका लागि विभिन्न चरणमा लगानी गरेको थियो। आर्थिक वर्ष २०७४÷०७५ मा करिब २४ लाख ७० हजार रुपैयाँमा ट्रष्ट निर्माण, २०७५÷०७६ मा सडक स्तरोन्नति गर्न ५२ लाख रुपैयाँ, २०८०÷८१ मा कम्पाउण्ड र ट्रष्ट निर्माणमा ५२ लाख रुपैयाँ र गत वर्ष सेती नदीको कटान रोक्न करिब ४५ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ । तर अघिल्ला जनप्रतिनिधिहरूको कमजोर नेतृत्वका कारण करोडौंको लगानी निष्प्रभावी बनेको बताइन्छ ।
२०७९ मा निर्वाचित जनप्रतिनिधिहरू आएपछि पनि व्यवस्थापन सुधारमा सुस्त गतिको आरोप लाग्यो । सरसफाइ अध्ययन भ्रमणका नाममा हेटौंडा, बाग्मति, तिलोत्तमा र वालिङ नगरपालिकामा करिब ३ लाख ५० हजार रुपैयाँ खर्च भए पनि व्यवहारिक नतिजा देखिएन । तर हाल सुरु भएको केन्द्र निर्माणले नगरपालिकाले विगतका कमजोरीबाट सिक्दै दीर्घकालीन समाधानतर्फ कदम बढाएको सन्देश दिएको छ । फोहोर व्यवस्थापन कुनै पनि नगरको जीवनस्तर र सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। फोहोरलाई सामान्य समस्या ठानेर बेवास्ता गर्दा वातावरण प्रदूषित हुन्छ, नदी र खोला प्रदूषणको स्रोत बन्छन् र स्वास्थ्य जोखिम बढ्छ । विगतमा शुक्लागण्डकीले यही गल्ती ग¥यो। सेती नदी किनारमा फोहोर थुपारेर तत्काल समस्या टारेजस्तो देखाए पनि दीर्घकालीन रुपमा यो शैली नगर सरसफाइ र नदी दुवैका लागि घातक बन्यो। अहिलेको प्रयासले ती त्रुटिहरू सच्याउने अवसर दिएको छ ।
आधुनिक प्रशोधन केन्द्रले फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने सम्भावना बोकेको छ। जैविक फोहोरलाई कम्पोस्ट बनाउन सकिन्छ, पुनः प्रयोग गर्न सकिने वस्तु बेच्न सकिन्छ र अपशिष्टलाई सुरक्षित ढंगले नष्ट गर्न सकिन्छ । यसबाट नगरपालिकाले आम्दानी गर्न सक्छ भने स्थानीय समुदायले पनि रोजगारी र व्यवसायिक अवसर पाउन सक्छन् । तर यति मात्र पर्याप्त हुँदैन। प्रशोधन केन्द्र निर्माण र उपकरण जडान महत्त्वपूर्ण भए पनि यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापन अझै ठूलो चुनौती हो। घरमै फोहोर वर्गीकरणको योजना कार्यान्वयन गर्न जनस्तरमा चेतना र अनुशासन आवश्यक पर्छ। यदि नागरिकले वर्गीकृत फोहोर नदिए, टोल विकास संस्थाहरू सक्रिय भएनन् वा ग्रिन रोडले जिम्मेवारीपूर्वक काम गरेन भने केन्द्र सञ्चालनमा आए पनि समस्या ज्यूँका त्यूँ रहन सक्छ।
त्यसैले यो परियोजना सफल बनाउन नगरपालिकाले जनसहभागिता सुनिश्चित गर्नुपर्छ। सचेतनामूलक अभियान, टोलस्तरीय सहकार्य र निगरानी संयन्त्र बलियो बनाउनुपर्छ। ठेकेदार र साझेदार संस्थाले सम्झौताअनुसार काम गरिरहेका छन् कि छैनन् भन्नेबारे नियमित मूल्यांकन हुनुपर्छ । साथै, यस केन्द्रको सञ्चालनमा पारदर्शिता र जवाफदेहिताको व्यवस्था गर्नुपर्छ। विगतमा जस्तै योजनाको नाममा भ्रमण खर्च गर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। फोहोर व्यवस्थापनलाई देखावटी होइन, व्यवहारिक र दिगो बनाउनुपर्ने आवश्यकता अझै उस्तै छ। अब नगर सरसफाइलाई दिगो बनाउन सबै पक्षको साझा प्रतिबद्धता जरुरी छ । यसलाई प्रभावकारी बनाउन अब ‘घोषणाभन्दा परिणाम’ मा जोड दिनुपर्छ ।










