ढकालको ‘बालबालिकाका सन्दर्भमा केही कुरा’ पुस्तिका विमोचन

दमौली । तनहुँको भानु नगरपालिका–६ मा रहेको प्रभात माध्यमिक विद्यालयमा विद्यानाथ ढकालद्वारा लेखिएको ‘बालबालिकाका सन्दर्भमा केही कुरा’ पुस्तिकाको विमोचन गरिएको छ ।
विद्यालयका सम्पूर्ण विद्यार्थीबाट एकसाथ सामूहिक रुपमा सो पुस्तिकाको शुक्रबार विमोचन गरिएको हो । विमोचन कार्यक्रममा ढकालले आफूले ‘क ख’ सिकेको विद्यालय भएकाले बालबालिकासँग सम्बन्धित उक्त पुस्तिका यसै विद्यालयका विद्यार्थीहरूबाट विमोचन गराउन पाएकोमा अत्यन्त खुसी लागेको बताए ।
उनले भने, ‘आजका बालबालिका नै भोलि परिवार, समाज र राष्ट्रका मूल आधार भएकाले उनीहरूका बारेमा अहिलेदेखि नै हामी सबैले विशेष चासोका साथ सकारात्मक रुपमा सोचिनु पर्दछ ।’
विद्यालयका प्रधानाध्यापक चीजकुमार सुर्खालीले यस्तो महत्वपूर्ण विषयसँग सम्बन्धित पुस्तिकाको विमोचन आफ्नो विद्यालयमा गर्ने अवसर जुटाइ दिएकोमा लेखकप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए ।
विद्यालयका अध्यक्ष रितेश खड्कीले पुस्तिका धेरै महत्वपूर्ण रहेको र यसको थोरै मात्र अनुसरण गर्नसके पनि हामी हाम्रो समाजलाई सही बाटोमा हिँडाउन सक्ने बताए ।
सो अवसरमा ढकालका तर्फबाट विद्यालयलाई शैक्षिक सामग्रीका साथै पुस्तकहरू पनि प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रेशम अधिकारीले जानकारी गराए ।