भानुभक्त क्याम्पस वेलचौतरामा संचालक समिति र प्राध्यापकहरुबीच पारिश्रमिकका विषयमा विवाद, विद्यार्थी चेपुवामा

राजकुमार आले/भञ्ज्याङ

कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि देशभरका शैक्षिक संस्थाहरुको नियमित पठनपाठन अवरुद्ध भएको छ । गत बर्षो शैक्षिक सत्रमा पनि कोरोना महामारीकै कारण शैक्षिक संस्थाहरु बन्द भएका थिए । केही शैक्षिक संस्थाले अनलाइन प्रणालीबाट पर्ढाई शुरु गरेपनि सरकारले मान्यता दिएको थिएन । अहिले कोरोनाको दोस्रो लहर आएपछि भने सरकारले अनलाइन कक्षालाई व्यवस्थित गरी पर्ढाई सुचारु गर्न अनुमति दिएको छ । विद्यार्थीहरुलाई विद्यालयमै उपस्थित गराएर पठनपाठन गराउँदा संक्रमणको जोखिम बढि हुने भएकाले सरकारले अनलाइन कक्षालाई प्राथमिकता दिएको हो ।

तनहुँमा पनि बैशाख २२ गते राती १२ बजेबाट शुरु भएको निशेषाधा आगामी जेठ १५ सम्मका लागि लागु गरिएको छ । संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा अघि नै जिल्लाका शैक्षिक संस्थाहरु बन्द भए । सरकारको आदेश अनुसार विद्यालय बन्द भएपछि पहुँच भएका प्राय शैक्षिक संस्थाले अनलाइन पद्धतीबाट पर्ढाई पनि शुरु गरेका छन् ।

यसैबीच, शुक्लागण्डकी नगरपालिका-५, बेलचौतरास्थित भानुभक्त बहुमुखी क्याम्पसले पनि अनलाइन प्रणालीबाट पठनपाठन शुरु गर्‍यो। तर, पढाइ शुरु भएको महिना दिन नपुग्दै अनलाइन कक्षा रोकिएको छ । गत बैशाख १९ गतेदेखि शुरु भएको अनलाइन कक्षा दुइ हप्ता संचालन भएर रोकिएको हो । प्राध्यापकहरुले नियमित कक्षा नलिएको गुनासो विद्यार्थीहरुबाट आएपछि अनलाइन कक्षालाई प्रभावकारी बनाउन क्याम्पसमै आएर कक्षा लिन प्राध्यापकहरुलाई क्याम्पस प्रशासनले निर्देशन दिएको थियो । तर,

प्राध्यापकहरुले यो महामारीको समयमा क्याम्पस गएर कक्षा लिन नसक्ने बताएपछि अनलाइन कक्षा रोकिएको खुलेको छ । क्याम्पसका एक जिम्मेवार व्यक्तिले भने निषेधाज्ञाका कारण अनलाइन कक्षा रोकिएको भनेर हास्यस्पद जवाफ दिएको विद्यार्थीहरुले बताएका छन्।

विएड प्रथम वर्षा अध्ययनरत विद्यार्थी सपना सुनारले निषेधाज्ञाका कारण अनलाइन कक्षा रोक्किनु उपयुक्त नभएको बताईन्। ‘कस्तो घरै बसेर पढाउन पनि निषेधाज्ञाले रोकिन्छ र -‘ उनले भनिन्, ‘फि दिने बेलामा पुरै तिर्न पर्ने तर पढ्ने बेलामा भने नियमित र पुरै बिषय पनि पढ्न नपाउने, यस्तो नि हुन्छ -‘

क्याम्पसकी अर्की विद्यार्थी रबिना क्षेत्रीले अनलाईन कक्षा पढ्नको लागि भनेर डाटा तानेर बसेपनि पुरै बिषय पर्ढाई नहुँदा अनावश्यक खर्च र तनाव मात्रै भएको गुनासो गरिन् । साथै क्याम्पसले एक्कासी अनलाईन कक्षा किन बन्द गर्‍यो भन्ने कुरा पनि आफुहरुलाई थाहा नभएको बताईन् । विद्यार्थी अनुशा दर्लामीले शुरुका दिनमा ३ वटा विषयको पर्ढाई हुने भएपनि पछि दुइ वटा बिषय मात्र पर्ढाई हुने गरेको सुनाइन् । ‘यति बिषय पढेर मात्र परिक्षामा पास हुन सकिएला त !’ उनले जिज्ञासा राखिन ।

विद्यार्थीहरुले विषयगत प्राध्यापकलाई सामाजिक सञ्जाल फेसबुक मार्फ् कक्षा हुने/नहुनेबारे प्रश्न गर्दा प्राध्यापकहरुले संचालक समितिसंगको रिस विद्यार्थीहरुमाथि पोख्ने गरेको गुनासो छ । विद्यार्थीहरुले शुल्क तिरेपछि समय परिस्थिति अनुसारको उचित व्यवस्थापन गरी नियमित पढ्ने वातावरण क्याम्पस प्रशासनले मिलाइदिनु पर्ने माग गरेका छन् । गत बर्षदेखि नै क्याम्पस संचालक समिति र प्राध्यापकहरुबीच पारिश्रमिकको विषयमा विवाद हुँदै आएको छ । समितिले जति दिन पढाएको छ, त्यहि अनुसार पारिश्रमिक दिने बताएको छ भने प्राध्यापकहरुले पुरै पारिश्रमिक पाउनुपर्ने माग गर्दै आएका छन् । यही विवादको चेपुवामा अहिले विद्यार्थीहरु परेका छन् ।

क्याम्पस प्राध्यापक संघका अध्यक्ष निरज भट्टराइले विद्यार्थीहरुले पर्ढाईको विषयमा गरेको प्रश्नमा ठाडो जवाफ दिंदै आफुहरुले एघार महिनादेखि तलब नपाएकाले कक्षा कहिलेदेखि हुने हो, तलब खाएका क्याम्पस प्रमुखलाई सोध भन्ने गरेका छन्। उनले गएको साउनदेखि आफुहरुले तलब नपाएकाले त्यहि भएर नपढाएको विद्यार्थीहरुलाई जवाफ दिने गरेका छन् ।

प्राध्यापक भट्टराइ भन्छन् ‘क्याम्पसले आफुहरुलाई पुर्णकालिन भनेर नियुक्ति गर्‍यो, तर पारिश्रमिक पाउने बेलामा कक्षा लिए अनुसार पाउने भनेर सम्झौता अनुसार पारिश्रमिक नदिने गर्दा यस्तो परिस्थति आएको हो ।’ ‘पढाउने जिम्मेवारी त हामीले छोडेको त होईन, हामी गएको दिनदेखि पुरा तलब दिएको भए यस्तो दिन आउँदै आउँदैनथ्यो’, उनले भने, ‘सधै सित्तैमा पढाएर हामीले छोराछोरी पाल्नु परेन, हाम्रो घर चल्नु पर्दैन र !’

प्राध्यापक भट्टराइका अनुसार आफु लगायत प्राध्यापकहरु सुर्य पौडेल, वेणु प्रसाद खतिवडा, डोलराज सिग्देल र ज्योति शर्माले पढाएको परिश्रमिक पाएका छैनन्। उनीहरु पाँचै जनाले पारिश्रमिक नपाएको भन्दै अनलाइनका कुनै कक्षा पनि लिएका छैनन् ।

अर्का पार्टटाइम अध्यापन गर्ने एक प्राध्यापकका अनुसार घरबाट लिने कक्षालाई संचालक समितिले मान्यता नदिने भनेपछि अहिलकोे अवस्थामा क्याम्पस जान असम्भव भएकोले आफुहरुले अनलाइन कक्षा लिन छाडेको बताए । ‘यो महामारीको बेलामा क्याम्पस गएर कक्षा लिन असम्भव छ, कोही पोखरा, कोही कता हुनुहुन्छ, हामीहरुलाई पासको व्यवस्था छैन’, उनले भने, ‘यो अवस्थामा कसरी आउने जाने – हाम्रो पनि जहान परिवार छन्, बुढा बाआमा हुनुहुन्छ, सबै प्राध्यापकहरु जाँदा संक्रमणको जोखिम पनि हुन्छ ।’

यस विषमा क्याम्पस प्रमुख रमेशबहादुर अधिकारीले दुइ वटा कारणले अनलाइन कक्षा रोकिएको बताउँछन् । अधिकारीका अनुसार संचालक समितिबाट क्याम्पसमै गएर अनलाइन कक्षा लिनुपर्ने आदेश आउनु एवं स्वास्थ्य सुरक्षाका दृष्टिले प्राध्यापकहरु क्याम्पस आउन सम्भव नहुनु र सबै विद्यार्थीको पहुँचमा इन्टरनेटको सुविधा नभएकाले अनलाइन कक्षा रोकिएको हो ।

क्याम्पस प्रमुख अधिकारी भने, ‘हाम्रा विद्यार्थीहरु गाउँगाउँका छन्, सबै ठाँउमा इन्टरनेटको सुविधा छैन, यसले गर्दा अनलाइन कक्षामा विद्यार्थीको सहभागीता कम भयो भने सिकाई प्रभावकारी पनि हुन सकेन। अर्कोतर्फ समितिको आदेश प्राध्यापकहरुले पालना गर्न सक्नु भएन, यो अवस्था क्याम्पस आउन सुरक्षाका हिसाबले गाह्रो पनि छ। त्यहि भएर कक्षा चलाउन मुस्किल परेको हो ।’ जेठ १५ गते निषेधाज्ञा खुलेपछि प्राध्यापकहरुलाई क्याम्पसमै आएर पढाउने वातावरण बनाउने उनले बताए ।

१५ गते नै निषेधाज्ञा खुलेछ भने त ठिकै छ, तर लम्बियो भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘राज्यले नै असारबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने भनेर भनेको छ, काठमाडौं पोखरामा त्यहि अनुसारको तयारी पनि भएको छ । १५ गतेसम्म पक्कै पनि केही निर्णय त आउँला नि । अन्यथा, समितिको बैठक बसेर एउटा निचोड निकाल्छौं ।’

उता, क्याम्पस संचालक समितिका अध्यक्ष प्राध्यापक डा. चन्द्रबहादुर थापा संचालक समितिले गरेको निर्णय सबै कर्मचारी तथा प्राध्यापकहरुले मान्नु पर्ने बताउँछन् । अध्यक्ष डा. थापाले नियमित पढाउने प्राध्यापकले आफ्नो पारिश्रमिक पाउने तर जसले पढाउँदैन उसले पारिश्रमिक नपाउने बताए । उनले भने ‘चित्त बुझेन भने छोड्नी हो, अर्को मान्छे आउँछ । यो समस्या यहाँको मात्र होइन, संसारभर यस्तै समस्या छ ।’

‘प्राध्यापकहरुलाई घरबाटै क्लास लिन भनेको तर नियमित क्लास नलिएको गुनासो विद्यार्थीबाट आएको हुँदा क्याम्पसमै आएर पढाउन भनिएको हो’ अध्यक्ष डा. थापाले भने, ‘तर, प्राध्यापकहरुले नआउने बताएपछि नआउने भए नआउने भनेर अनलाइन कक्षा रोकिएको हो । यो समस्या यहाँको मात्र नभएर संसारभरिकै भएको भन्दै विद्यार्थीहरुलाई नआत्तिन आग्रह गरेका छौं ।’

सरकारले अनलाइन कक्षालाई जोड दिए पनि शहरी क्षेत्रका सिमित विद्यार्थीहरुले मात्र लाभ लिन सकेका छन् । कतैभने अनलाइन कक्षा शुरु नै हुन सकेको छैन । यता, शुक्लागण्डकीकै गण्डकी मल्टिपल कलेज भुरुङ्गे, शहीदकृष्ण क्याम्पस गणपते र भीमादको जनज्योति क्याम्पसमा भने नियमित रुपमा अनलाइन कक्षा संचालन भइरहेको क्याम्पस प्रमुखहरुले बताएका छन् । गत बर्षेखि नै अभ्यास गरिएकाले यस बर्षअनलाइन कक्षा चलाउन सहजसंगै प्रभावकारी भएको उनीहरुको दाबी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker