बुद्धसिंह मार्ग स्तरोन्नति : म्याद सकिन ४ महिनामात्रै बाँकी हुँदा ४० प्रतिशत काम
गण्डकी र बागमती प्रदेशलाई छोटो दुरीमा जोड्ने बुद्धसिंह मार्गको स्तरोन्नति कार्य निकै सुस्त गतिमा भएको छ । ट्रयाक खनेको करिब ३ दशकपछि यस मार्गको स्तरोन्नति भइरहेको हो । २०७९ भदौ २७ गते यो सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरिएको थियो ।
दमौलीबाट घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये दमौली बसपार्कदेखि सुडेपुलसम्मको १० किलोमिटर सडक स्तरोन्नतिका लागि मैनाचुली सफल जेवी, काठमाडौंले २०८२ जेठ २७ गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । काम गर्ने समय सकिन करिब ४ महिना बाँकी रहँदा ४० प्रतिशत मात्र भौतिक प्रगति देखाइएको छ ।
सम्झौता भएको १० किलोमिटर सडक स्तरोन्नतिमा १० किलोमिटर नाली निर्माण, ९ किलोमिटर कालोपत्र, एक किलोमिटर ढलान र वल उठाउनेलगायतको काम रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रविन्द्र तिवारीले बताए । उनले भने, ‘नाली निर्माण र ग्राभलिङ्गको काम भइरहेको छ । सडक कालोपत्र गर्ने कामले भने अपेक्षित गति लिन सकेको छैन ।’
सडक स्तरोन्नतिको कामलाई तीब्रता दिई समयमै सक्नका लागि निर्माण पक्षलाई दबाब दिइरहेको उनले बताए । प्रमुख तिवारीले भने, ‘अब चाडैनै ढलानको काम सुरु हुन्छ । त्यसपछि कालोपत्र गर्ने निर्माण पक्षको तयारी छ ।’
करिब ३४ करोड २७ लाख ४४ हजार ५६१ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएकोमा १० करोड २४ लाख रुपैयाँ भुक्तानी भइसकेको उनले बताए । चालु आर्थिक वर्षका लागि करिव २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
२०४८ मा सदरमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँच पुर्याउने उद्देश्यका साथ स्थानीयकै सक्रियतामा सडकको ट्रयाक खनिएको थियो । स्थानीयले कोदालो, गैंती, बेल्चा जस्ता घरेलु औजार प्रयोग गरी मादीको किनारैकिनार ट्रयाक खोलेका थिए।
ट्रयाक खनेको ३१ वर्ष बितिसक्दासम्म सडक स्तरोन्नति नहुँदा स्थानीयले हिउँदमा धुलो र बर्खामा हिलोको सामाना गर्नुपरेको छ । जिल्लाको विकट कोटा, बैदी, छिपछिपे र धरमपानी, मास्दिघाट, नाल्दीपुललगायतका गाउँका बासिन्दालाई सडकसँग जोड्ने लक्ष्यका साथ साविकका गाउँविकास समिति र स्थानीयको सक्रियतामा दमौलीदेखि घुमाउनेघाटसम्म कच्ची सडक बिस्तार गरिएको थियो ।
पोखरा–डुम्रे–आँवुखैरेनी–मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंह मार्ग हुँदै घुमाउनेघाट निस्किएर नारायणगढ पुग्न करिब २४ किलोमिटर दुरी छोटो पर्छ । तर, बुद्धसिंह मार्गलाई मुग्लिङ–नारायणगढ सडकसँग जोड्न घुमाउने घाँटमा पक्की पुल निर्माण कार्य पूरा हुन सकेको छैन । करिब १५ वर्षदेखि पुल निर्माणका विषयमा चर्चा चले पनि अझै काम हुन सकेको छैन । यस्तै, घुमाउने घाँटमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको पनि करिब एक दशक वितिसकेको छ ।
विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भए पनि हालसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिलर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटक पटक चेतावनी दिँदै आए पनि निर्माण पक्षले म्याद थप्ने तर काम अगाडि नबढाउने गरेको स्थानीयको अरोप छ ।
डिजाइन एन्ड बिल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रुपैयाँ रहेको बताइएको छ। दोहोरो लेनको पुलमा ७.५ मिटर गाडि हिड्ने भाग रहने डिजाइनमा उल्लेख छ। हेडौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
बुद्धसिंह मार्गमा पर्ने आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलाहरूमा पुल नहुँदा आवतजावतलाई समस्या भएको भन्दै स्थानीय आन्दोलनमै उत्रिएका छन् । स्थानीयले संघर्ष समिति गठन गरी घुमाउने घाटको पुल निर्माण र सडक स्तरोन्नती कार्यलाई तीब्रता दिन सरोकारवाला निकायलाई दबाब दिँदै आएको संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए ।










