भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

डम्मर बुढामगर/रासस

ढोरपाटन (बागलुङ) : चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौँ भिर, पहरा र जङ्घार पार गर्नुपर्छ । बस्तीदेखि जङ्गलसम्म जताततै तामाखानी छन् तर उत्खनन हुन नसक्दा नर्जाखानीवासी टुकीमुनिको अँध्यारो बन्नु परेको छ ।
यहाँका बारीका कान्ला, घरका करेसादेखि जङ्गलका बीचमा पनि तामाखानी छन् । वर्षौं अगाडि तामा निकालिएको ठाउँमा अहिले डोबहरु भेटिन्छन् । ठूला–ठूला सुरुङ र खाडल झाडीले पुरिएको देखिन्छ । तमानखोलाभरि खानैखानी हुँदा पनि अहिलेसम्म कुनै पनि स्थानमा उत्खनन भएको छैन । नर्जाखानीसहित तमानखोलामा बोङ्गाखानी, खुङ्खानी, बोङखानीलगायत धेरै गाउँहरु छन् । तमानखोला गाउँपालिकामा रहेका गाउँको नामको पछाडि खानी जोडिएको छ, ती सबै ठाउँमा सयौँ वर्ष अगाडि तामा निकाएको डोबहरु भेटिन्छन् ।
गाउँमा सयौँको सङ्ख्यामा रहेको डोबहरुमा बेला–बेलामा स्थानीयले स–साना तामाका धाउहरु फेला पर्ने गर्छन् । बारीमा भेटिने तामाखानी उत्खनन गर्नका लागि स्थानीयले मागसमेत गर्दै आएका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा करिब एक सय २० वर्ष अगाडिसम्म तामा निकालिएको पाइन्छ । अन्य गाउँको तुलनामा नर्जाखानीमा धेरै खानी रहेको पाइन्छ । नर्जाखानीका ९५ वर्षीय लालबहादुर छन्त्यालले आफ्नो बाउबाजेका पालासम्म यहाँ खानीबाट तामा निकालेको बताउनुभयो । भिर पहराबाट निकालेको तामा बेचेर अघिल्लो पुस्ताले जीविकोपार्जन गरेको उहाँको भनाइ छ ।
“पहिले–पहिले पहिरोले बारीका कान्ला भत्किँदा पनि तामाका धाउ भेटिन्थे, अहिले पनि तामा जस्ता देखिने वस्तुहरु धेरै नै भेटिने गर्छन्, यहाँ त जता गयो त्यतै खानीको डोबहरु भेटिन्छन्, ठूला–ठूला खाडलहरु पनि देखिन्छ,” छन्त्यालले गाउँ नजिकको भिरलाई देखाउँदै भन्नुभयो, “ती पारीका भिरपहरा जहाँसुकै खानी छन्, खानीका गणना हुनै सकेको छैन, हाम्रा बाउबाजेले उतिबेलाको जमानामा निकै दुःख गरेर तामा निकाल्नुभएको रहेछ ।”
दशकौँ अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्ण रुपमा खानी बन्द छन् । स्थानीय पाका व्यक्तिका अनुसार छन्त्याल जातिले तामा उत्खनन गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने प्रचलन थियो । तामा निकालेको ठाउँबाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकले बसोबास गरेको ठाउँहरुको भग्नावशेषलगायतका वस्तु भेटिने गरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रहादुर छन्त्यालले जानकारी दिनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयवासीले तिर्न नसक्दा तामा निकाल्न छोडेको उहाँको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको अध्यक्ष छन्त्याल बताउनुहुन्छ । “हामी सानो हुँदा बुबाले तामाको धाउ निकाल्नु भएको थियो, त्यसमा पूरै तामा थियो, अहिले कसैले पनि निकालेका छैनन्, तत्कालीन सरकारले स्थानीय बासिन्दाले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छोडेको हुन् । ठ्याक्कै यकिन मिति त भएन, तर सय वर्षअघि देखि बन्द भएको अनुमान छ,” अध्यक्ष छन्त्यालले भन्नुभयो, “त्यसबेला अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय र मिहेनत गरेर तामा निकाल्ने गरिन्थ्यो, सरकारले कर धेरै तिर्न आदेश गरेपछि तामा निकाल्ने काम बन्द भएको थियो रे । अब नयाँ तरिकाले उत्खनन गर्नुपर्छ ।”
चारैतिर खानीहरु भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको स्थानीय तुलबहादुर छन्त्याल बताउनुहुन्छ । उहाँले छन्त्याल जातिलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिएकाले उनीहरुले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो । गाउँभरि तामाखानी भए पनि राज्यको ध्यान जान नसक्दा उत्खनन् हुन नसकेको उहाँको भनाइ छ । छन्त्यालले आफ्ना पुर्खाहरुले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खेती गर्नसमेत नजानेको उहाँको भनाइ छ । प्रत्येक ठाउँमा तामाहरु भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्न जरुरी रहेको छन्त्याल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “हाम्रा पुर्खालाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिन्छ, उतिबेला अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन र पनि खानी पत्ता लगाए, उनीहरुले माटो सुँघेर खानीहरु पत्ता लगाउँथे र उत्खनन गर्ने गर्थे ।” बूढापाकाले भनेअनुसार उतिबेला छन्त्याल जातका मानिसहरु खेतीपाती गर्न जान्दैनथे, उनीहरुलाई खानीमा गर्ने कामबाहेक अरू आउँदैनथ्यो । गाउँमा बारी खनजोत गर्दा पनि स्थानीयवासीले तामा भेटाउने गर्थे, कतिले त भेटाएको तामाबाट गाग्री, ताउलो लगायतका भाँडाकँुडा पनि बनाउने गरेको उहाँको भनाइ छ ।
नर्जाखानीसँगै तमानखोला गाउँपालिका–५ को खुङ्खानीमा पनि धेरै खानी रहेका छन् । यस गाउँ पनि खानी खन्नेहरुकै गाउँका रुपमा लिन्छ । तमानखोलाको धेरै ठाउँमा छन्त्याल समुदायकै बाहुल्यता रहेको छ । खुङ्खानी वरपर खानी नै खानी भएको हुँदा यस ठाउँलाई खुबैखानी भन्ने गरिकामा अहिले त्यसको अपभ्रंश भएर खुङ्खानी भन्न थालिएको स्थानीय बुद्धिबहादुर छन्त्यालले बताउनुभयो । खानीलाई व्यवस्थित तरिकाले निकाल्न सके विकास निर्माणमा ठूलो टेवा पुग्ने उहाँ बताउनुहुन्छ । “पछिल्लो समय खानी उत्खननका लागि धेरै प्रविधिको विकास भएको छ, नयाँ–नयाँ यन्त्र उपकरणहरु आविष्कार भएका छन्, उतिबेलाको हाम्रा पुर्खाहरुले वन जङ्गलमा पाइने बाँस र एउटा निगालोकै भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभएको रहेछ, अहिले राज्यले चाह्यो भने खानी उत्खनन गर्न धेरै समस्या छैन”, उहाँले भन्नुभयो, “त्यसबेला छन्त्याल जातिहरु भिर–पहरामा गएर खानी उत्खनन गर्नु हुन्थ्यो रे, उहाँहरुले एउटा निगालामा आगो बालेर सुरुङभित्र पसेर घण्टौँपछि तामा निकाल्नुभएको कुरा अहिले सुनिन्छ ।”
तमानखोला गाउँपालिका–२ बोङ्खानीका जालप्रसाद छन्त्यालले पहिलेदेखि नै यस क्षेत्रमा जनजाति र दलित समुदायले तामाखानीमा काम गरेको बताउनुभयो । सामान्य घरेलु औजारको प्रयोग गरेर उतिबेला तामा निकाल्ने गरेको उहाँको भनाइ छ । खासगरी खानीभित्रै पसेर सीप भएका छन्त्याल जातिले तामाका धाउ निकाल्ने, विश्वकर्मा जातिले त्यसको प्रशोधन गर्ने र थकाली जातिले बजारीकरण गर्ने गरेको छन्त्याल बताउनुहुन्छ । अहिले आफ्नो घर वरपर ठूलाठूला खानीका सुरुङहरु रहेको उहाँको भनाइ छ । बोङ्खानीमा पश्चिमबाट आएर छन्त्याल जातिहरुले खानी सञ्चालन गरेको उहाँले बताउनुभयो ।
छन्त्यालले भन्नुभयो, “तमानखोलामा जति पनि खानीहरुका नामबाट गाउँ बनेको छ, त्यहाँ धेरैजसो छन्त्याल समुदायको बाहुल्यता रहेको छ, छन्त्याल जाति र खानीको निकै घनिष्ठ सम्बन्ध रहेको छ, पहिला–पहिला हाम्रा अग्रजहरुले खानीबाटै आफ्नो जीविका चलाएका रहेछन् । अहिले आएर समय फेरियो, जुग जमाना फेरियो, त्यसले गर्दा खानीहरु पनि बन्द भए, पहिले उत्खनन भएका खानीका थुप्रै अवशेषहरु अझै पनि भेटिन्छन् । फेरि उत्खनन गर्न थाल्ने हो भने यहाँका नागरिकको जीवनस्तर उकासिने थियो, आयआर्जनको माध्यम बढ्ने थियो भने रोजगार पनि सिर्जना हुने थियो ।”
तमानखोलासहित बागलुङका धेरै ठाउँको नाम खानीबाट बनेका छन् । बागलुङ नगरपालिका–९ तित्याङमा पनि तामाखानी छ । त्यहाँ पनि तामाको कच्चापदार्थ निकाल्दा ठूलो सुरुङ निर्माण भएको छ । सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानीलगायत थुप्रै खानीका नाम छन् । यी ठाउँहरुमा विगतमा खानी रहेको जानकारहरु बताउँछन् । पहिले खानी रहेको स्थानमा हाल झाडी पलाएर पुरिएको छ ।
तमानखोलामा अझै बढी खानी रहेको हुँदा स्थानीयले उत्खनन गर्नका लागि माग गर्दै आइरहेका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलामा क्षेत्र खानीले घरिएको हुँदा उत्खननका लागि केन्द्र सरकारसँग सहकार्य गर्ने बताउनुभयो । गाउँपालिकाभित्रै धेरै खानी भए पनि के कति छन् भनेर यकिन गर्न नसकेको उहाँको भनाइ छ । गाउँपालिकाको वडा नं ६ को नर्जाखानीमा रहेको तामाखानी उत्खननका लागि खानी विभागबाट अनसमिति लिएर एउटा विज्ञ टोली अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । तामाको परीक्षणका लागि नमूना प्रयोगशालामा पठाएको उहाँले बताउनुभयो । भारतका दुईसहित चार जनाको विज्ञ टोलीले नर्जाखानीमा अध्ययन गरिरहेको छ ।
तीन पटकसम्म विज्ञ टोली आएर यहाँ अनुसान्धान गरेको छ, राम्रो गुणस्तरको तामा निकाल्न सकिने सम्भावना रहेको बताइएको छ । अध्यक्ष बुढा मगरले भन्नुभयो, “खानी उत्खनन थालेपछि यहाँबाट ठूलो सङ्ख्याले रोजगार पाउन सक्नेछन्, त्यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नेछौँ, नागरिकले रोजगार पाउनेछन्भने उनीहरुको जीवनस्तर पनि उकासिनेछ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker