भ्रष्टाचारविरुद्ध एकीकृत नागरिक अभियानको घोषणा

दमौली : व्यास नगरपालिकामा भ्रष्टाचारविरुद्ध एकीकृत नागरिक अभियानको घोषणा गरिएको छ । ‘देशका लागि, स्वार्थ भन्दा माथि, लागौं अब साथी’ भन्ने नाराका साथ सुरु गरिएको अभियानको उद्देश्य स्थानीय तहदेखि राज्यका विभिन्न निकायमा हुने भ्रष्टाचार, ढिलासुस्ती, कुशासन, विकृति र विसङ्गतिहरूलाई निरुत्साहित गर्नु रहेको अभियानकर्ताहरुले बताएका छन् ।
अभियानकर्ताहरुले सोमबार दमौलीमा पत्रकारसम्मेलन गरी अभियानको प्रारम्भिक चरणमा व्यास नगरपालिकाका १४ वटै वडामा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएका छन् । नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न भ्रष्टाचारीको कात्रोमा हस्ताक्षर संकलन र घरघरबाट थोत्रा जुत्ता चप्पल संकलन गरी सांकेतिक कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।
यस अभियानमा सामाजिक सेवामा सक्रिय संघसंस्थाहरू, सामाजिक अभियन्ताहरू र सचेत नागरिकहरूको सहभागिता रहने जनाइएको छ । पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछि पुनः पत्रकार सम्मेलनमार्फत बाँकी कार्यक्रमहरू सार्वजनिक गरिने अभियानका संयोजक मित्र दुराले जानकारी गराए ।
स्थानीय तहदेखि राज्यका सबै तह र तप्काका सार्वजनिक सेवा प्रदायक संघसंस्थाहरू र सरकारी निकायहरूमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र कुशासनलाई नियन्त्रण गर्न स्थानीय तहहरूमा नागरिक सहायता तथा सूचना कक्षहरू स्थापना गर्ने योजना रहेको संयोजक दुराले जानकारी गराए ।
अभियानले जनप्रतिनिधिहरू, कर्मचारी र राजनीतिक दलहरूलाई पनि सुशासनको अभियानमा सहभागी हुन आह्वान गरेको छ । अभियानकर्ताहरुले भने, ’देशको सम्पूर्ण स्रोतसाधनको सदुपयोग र जनताका अधिकारको संरक्षणका लागि यो अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक छ ।’










