युवालाई गाउँमै रोजगारी दिन “श्रम बैङ्क”

भञ्ज्याङ समाचारदाता/गण्डकी

विदेश पलायनलाई घटाइ युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो ।

सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७ सदस्यलाई शपथ ग्रहण गराउनुभएको थियो । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकास लागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

रोजगार बैङ्कमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उहाँको भनाइ छ । “गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढुङ्गाखानी उत्खननलगायत स्थानीय उद्योगधन्दामा आवश्यक जनशक्ति आपूर्ति र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष बिकले भन्नुभयो “पहिलो चरणमा वडा तहबाट आवेदन सङ्कलन गरेर रोजगार बैङ्कमा ६७ जनालाई सूचीकृत गरेका छौँ ।”

स्थानीय दक्ष जनशक्ति परिचालन गरी विकास योजनालाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रुपान्तरण, सामाजिक विकृति न्यूनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैंकको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनुभयो । गाउँपालिकाले बजेट विनियोजन गरेका, संघीय र प्रदेशका आयोजनामा श्रम बैङ्कमार्फत जनशक्ति आपूर्ति गरिने उहाँले उल्लेख गर्नुभयो । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरूलाई पनि रोजगार बैङ्कमा सूचीकृत प्रमुख प्रशासकीय अधिकृत घिमिरले बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु तीन करोड छ लाख बजेट बराबरको योजना श्रम बैंकमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताउनुभयो । “विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैङ्कका जनशक्तिलाई परिचालन गर्र्छौं,” उहाँले भन्नुभयो, “श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि बनाएका छौँ, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध छ ।”

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुइ हजार दुइ सय घरधुरीबाट एक/एकजनालाई बैङ्कमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुरलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा रु एक सय १०, प्रदेश, संघीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा रु एक सय १५ का दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ ।

मासिक रु १७ हजार तीन सय ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा कम दिएमा सामाजिक सुुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ । एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा बढी भएमा गाउँपालिकाले १० प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्नेछ । श्रम बैङ्कमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् ।

श्रम बैङ्कमा आबद्ध श्रमिक र आश्रति परिवारलाई सामाजिक सुुरक्षा भत्ता, औषधि उपचार, मातृत्व सुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्ति लगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । एकजना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरूको १० प्रतिशत सहभागिता सहित वार्षिक रु एक लाख १५ हजार १९ खर्च गरिने भएको छ ।

श्रम रोजगार बैङ्कमा आबद्ध सदस्यहरूका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोसाक र सामग्रीसहित गाउँपालिकाले लगाएको काम गर्नुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, र्सार्वजनिक रूपमा गाउँपालिकाविरुद्ध अभिव्यक्ति दिन नपाउनेलगायत आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष बिकले बताउनुभयो ।

श्रम रोजगार बैंकमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरी रोजगारको कार्यक्रम ल्याएकामा खुशी व्यक्त गर्नुभयो। केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उहाँको भनाइ छ । गाउँपालिकाका पाँचवटै वडाका युवा जनशक्ति श्रम रोजगार बैङ्कमा आबद्ध भएका छन् । युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैंकमा आबद्ध हुने श्रमिकको छनौट गरेको थियो ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाका अतिरिक्त प्राविधिक सीपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरूलाई समेत आवश्यकताका आधारमा श्रम रोजगार बैङ्कमा आबद्ध गरिने गाउँपालिकाले जनाएको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले श्रमिकको सम्मान र सुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुना कार्यक्रम सुरु गरेको बताउनुभयो । गाउँमै रोजगारी सिर्जनाका साथै गुणस्तरीय पूर्वाधार विकासमा श्रम रोजगार बैङ्क कोशेढुङ्गा बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker