बन्दिपुरमा आन्तरिक पर्यटकको चहलपहल
भञ्ज्याङ समाचारदाता (दमौली)

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दिपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् । नयाँ वर्षको क्रममा बन्दिपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ । गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दिपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले बताए । ‘अहिले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दिपुरमा आन्तरिक पर्यटकको आगमन बाक्लिँदै गएको छ’, उनले भने, ‘अहिले दैनिक तीन सय भन्दा बढी आन्तरिक पर्यटक बन्दीपुर भित्रिएका छन् ।’
नयाँ वर्षलाई लक्षित गरी बन्दिपुरका होटल व्यवसायीले छुटका कार्यक्रमसमेत ल्याएका छन् । नयाँ वर्षका क्रममा होटल व्यवसायीले सांगितिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्। ‘ठूलो स्टेज कार्यक्रम त केही छैन, तर सबै व्यवसायीले आफ्नो होटल अगाडि खाना महोत्सव साथसाथै सांगितिक कार्यक्रम गर्ने सोच बनाएका छन्’, गुरुङले बताए ।
त्यस्तै, बन्दिपुरका होटल व्यवसायीहरुले कोरोना भाइरस संक्रमण त्रास बढेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पाहुनालाई स्वागत गर्ने तयारीमा जुटेका क्षेत्रीय होटल संघ बन्दिपुर इकाईका अध्यक्ष विपिन प्रधानले बताए । उनले भने, ‘आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रि तथा मापदण्ड पालना गरी स्वच्छ र सफा वातावरणमा पाहुनालाई स्वागत गर्ने र बन्दिपुर सुरक्षित छ भन्ने सन्देश दिन पनि हामी होटल व्यवसायीहरु लागि परेका छौं ।’
बन्दिपुरमा होटल संघमा आवद्ध ७७ होटल छन् । बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षाको केन्द्रविन्दु बन्ने गरेको छ ।
बन्दिपुरले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बन्दिपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उहाँले बताउनु भयो । उहाँका अनुसार गत वर्षएक हजार १०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।










