शुक्लागण्डकी नगरपालिका : पूर्वाधार विकाससंगै उत्पादन र नागरिकमैत्री सेवा प्रवाहमा जोड

नारायण खड्का/तनहुँ

पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुच्छ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम लगायतका उच्च पहाडी भू-धरातल क्षेत्रको संरक्षणमा पृथ्वीराजमार्गमा रहेको यस नगरपालिका ऐतिहासिक, धार्मिक, सास्कृतिक, प्राकृतिक आयमले भरिपूर्ण छ ।

पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिन्थ्यो, जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

कृष्णराज पण्डित : प्रमुख

यस नगरपालिकाको पूर्वमा म्याग्दे गाउँपालिका र ब्यास नगरपालिका, पश्चिममा स्याङजा जिल्ला, उत्तरमा कास्की र स्याङजा जिल्ला, दक्षिणमा भिमाद नगरपालिका र म्याग्दे गाउँपलिका सिमा भित्र रहेको नगरपालिकालाई विकास र समृद्ध बनाउन पूर्वाधार निर्माणसंगै उत्पादनमा जोड दिएर अगाडि बढेको नगरप्रमुख कृष्णराज पण्डित बताउँछन् ।

‘पूर्वाधारलाई संगसंगै जोडेर हामी गएनौ भने समृद्धि हाँसिल गर्न सकिदैन । विशेषगरी ग्रामीण क्षेत्रलाई हामीले आर्थिक रुपमा सम्पन्न गरी आमदानी बढाउनका लागि उहाँहरुसंग जेजति जमिन छ ती जमिनलाई राज्यले दिएका अनुदान र नयाँ प्रवृधिसंग सु-सुचित गरी उत्पादन बढाउन सकियो भने मात्र ग्रामीण क्षेत्रको समृद्धि कल्पना गर्न सकिन्छ’, उनले भने, ‘उपभोक्ता र उत्पादक बिचको दुरी छोट्याउने, उत्पादकत्वले उपभोक्तासंग सिधैं सम्पर्क गर्न सके केही हदसम्म कृषकहरुले उचित मुल्य पाउन सक्नुहुन्छ । हामीले कृषि उत्पादक बिक्री कक्ष बनाउने, सिजनमा उत्पादन भएकालाई अपसिजनमा अलि बढि मूल्य बनाएर बिक्री गर्न सीत भण्डार निर्माण गरी कृषकहरुले अझ बढि मूल्य र लाभ पाउन सकुन भन्ने हिसावले योजना बनाएर अगाडि बढेका छौं ।’

सकेसम्म कृषि उत्पादन हुने, पर्यटकीय क्षेत्रहरुलाई भौतिक पूर्वाधार सडक, शुद्ध खानेपानीको पहुँच पुर्‍याएर ग्रामीण क्षेत्रमै बस्ने र उत्पादन बढाउने योजनाहरुको साथ हामीले भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरेको उनले बताए ।

नगरप्रमुख पण्डितले भने, ‘सकेसम्म सडक कालोपत्रे गर्ने, नसके ग्राभलिङसम्म गर्ने, कसै नसके सडक हिउँदवर्खै चल्ने हिसाबमा निर्माण गर्न खोजेका छौं । अगाडिका जनप्रतिनिधिहरुले हामीलाई केही गोरेटाहरु देखाएर, खोलेर जानुभएको छ, त्यही गोरेटाहरु पुरा गर्ने, जनताका चाहानाहरु पुरा गर्ने, जनभावना अनुसार जनताका सल्लाह र सुझाव लिएर शुक्लागण्डकीलाई कसरी बिकास गर्न सकिन्छ, आर्थिक रुपमा, पूर्वाधारहरुलाई पुरा गर्ने सन्दर्भमा, पर्यटकीय, धार्मिक क्षेत्रको प्रवर्द्धन गर्दै राष्ट्रियकारण तथा बजारीकरण तर्फ के सकिन्छ भनि हामी आगडि बढेका छौं । विशेषगरी उत्पादनलाई नै हामीले जोड दिएका छौं ।’

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित रक गार्डेन ।

शुक्लागण्डकीका केही ठुला भूभागहरुमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनि गण्डकी प्रदेशसंग माग पनि गरिएको छ । जमिन पनि उपलब्ध गरिएको छ । ती जमिनमा औद्योगिक क्षेत्रका भौतिक पूर्वाधार बनाउन सके यहाँका स्थानीयहरुले केही हदसम्म रोजगारी पाउने थिए । औद्योगिक क्षेत्रले आर्थिक रुपमा पनि साथ दिने भएकाले विदेश पलायन हुने बाँध्यतालाई केही हदसम्म भएपनि कम गर्छ कि भन्ने सोचका साथ कामलाई अगाडि बढाउन पहल गरिरहेको नगरप्रमुख पण्डितले बताए ।

‘पहिलो वर्ष भएकाले योजना बनाउनमै छौं तर आगमी ४ वर्ष जनताप्रति पूर्ण वफादार भएर शुक्लागण्डकीलाई कसरी समृद्ध बनाउन सकिन्छ । स्वास्थ्य क्षेत्रमा उच्च स्तरको स्वास्थ्य सेवा दिन सकिन्छ, शिक्षा क्षेत्रमा कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने सोचेर अगाडि बढेका छौं’, उनले भने, ‘कृषिलाई प्रविधिसंग जोड्ने प्रविधिलाई उत्पादन र उत्पादनलाई आर्थिक संमृद्धिसंग जोड्न सकिन्छ भनि बजारीकारणमा पनि जोड दिएका छौं ।’

‘निर्वाचित भएको सुरुको वर्ष जनताको चाहाना पनि अलि बढि छ । जनताको अपेक्षा बढि छ त्यसैले हामीले जनतालाई सम्झाउदै तपाईहरुले हामीलाई पाँच वर्षको लागि निर्वाचित गराएर पठाउनु भएको हो । हामीले तपाईहरुको आवश्यकताको आधारमा पुरा गर्दै जाने सोच बनाएका छौं । यो वर्ष नगरी नहुने के छ भनि जनतालाई नै सोधेर आवश्यकतालाई प्राथमिकिरण गरी हामीले पुरा गर्दै जाने सोच बनाएका छौं’, उनले भने, ‘हामीसंग सिमित श्रोत साधान भएतापनि जनताहरुसंग सरसल्लाह गरी बिकासका काम गरेका हुनाले उहाँहरु पनि खुसी नै हुनुहुन्छ भन्ने हामीले आपेक्षा गरेका छौं ।’

खुम बहादुर वि.क. (राजु) : उपप्रमुख

नीति तथा कार्यक्रममा नगरपालिकाको नारा अनुसार कृषि, पर्यटन र पूर्वाधार शुक्लागण्डकीको अधार भन्ने छ । त्यसमध्ये हामीले पहिलो दुइ वर्ष पूर्वाधारको वर्षको रुपमा अगाडि बढाउने गरी काम गरेको उपप्रमुख खुम बहादुर वि.क. बताउँछन्। ‘विकासको बजेटको करिव ७० प्रतिशत वरिपरि पूर्वाधारलाई खर्चा गरेका छौं ।

त्यसमा पनि विशेषगरी खानेपानीको सुविधालाई सबै क्षेत्रमा सकिन्छ एक घर एक धारा खानेपानीको पहुँच बिस्तार गर्ने भन्ने छ’, उनले भने, ‘खरको छानो बिस्थापित गर्ने भन्ने नीति तथा कार्यक्रम पनि जोडेका छौं । अर्को कृषि क्षेत्र विस्तार गर्ने भनेका छौं । त्यसका लागि दुधको उत्पादनको आधारमा प्रतिलिटर दुइ रुपैयाँ अनुदान दिने कार्यक्रम लागु गर्‍यौं र आगामि वर्षमा बढाउँदै जाने छौं ।’

उनले भने, ‘बेलचौतारामा कृषि संकलन केन्द्र बनिरहेको र ढोरफिर्दीमा चिस्यान केन्द्र छ । गाउँगाउँमा सामुदायिक भवनहरु छन् त्यसलाई कृषि उपज संकलन केन्द्रको रुपमा सञ्चालन गर्ने र कृषि एम्बुलेन्सको व्यवस्थापन गरी बेलचौतारासम्म ल्याएर बिक्री गर्ने योजना बनाएका छौं ।’

त्यस्तै, शिक्षामा स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाउनुपर्ने थियो र यो वर्ष स्थानीय पाठ्यक्रम निर्माणको लागि अन्तिममा नगरपालिका पुगेको छ । २०८० सालको नयाँ शैक्षिक सत्रबाट नै पालिकामा स्थानीय पाठ्यक्रम लागु गर्ने नगरापलिकाले तयारी गरेको छ । शिक्षाको आधारभूत आवश्यकताहरु के-के हुन भनेर एक सय वटा सूचक तयार गरिएको उपप्रमुख विकले बताए । के-के भयो भने शिक्षामा सुधार हुन्छ भनेर शिक्षाको सूचकहरु कसले लागु गर्ने र शिक्षामा सुधार कसरी गर्ने भनि आन्तरिक छलफल भइरहेको पनि उनले बताए ।

निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत तनहुँको शुक्लागण्डकी-३ को भुलभुलेबाराही मोटरमार्ग अन्तरगत गाछेपानीमा नाली निर्माण गर्दै निर्माणकर्मीहरु

‘सेवाको न्यूनतम मापदण्ड पनि लागु गरेका छौ । कुन निकायमा कस्तो प्रकारको फाइल जादा कति समय लाग्ने भनि मापदण्ड बनाउँदै छौं’, उनले भने, ‘न्यायीक समितिमा धेरैजसो अंशवण्डा र साधकुलोको मुद्दा बढि आएको छ । त्यसमा हामीले तीन चरणमा हेरिरहेका छौं। हाम्रो वडामै मेलमिलाप समितिमा वडाध्यक्षको रोहोवरमा छलफल गराउछौं, त्यसपछि नगरपालिकामा मेलमिलाप समितिमा र अन्तिममा न्यायीक समितिमा सो मुद्दामाथी छलफल हुन्छ। कुनै मुद्दामाथी छलफल गराउँदा फैसला गराउने भन्दा मेलमिलाप गराउने र सदभाव कायम गर्नेमै हाम्रो बढि जोड रहने गरेको छ । अहिलेसम्म करिव २८ वटासम्म मुद्दा परेका छन् । यसमध्ये २२ वटा मेलमिलाप गरिसकिएको र ५ वटा छलफलमै रहेका छन् ।’

यस्तै, युवाहरुलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउनका लागि युवासंग उपप्रमुख भन्ने कार्यक्रम पनि सञ्चालन गरिएको छ। उक्त कार्यक्रम मार्फत अन्तरपुस्ता सीप हस्तान्तरण र व्यवसायीक बनाउन कसरी सकिन्छ भन्ने दुइ वटा कार्यक्रम चलाउन खोजिएको उपप्रमुख विकले बताए । उनले भने, ‘क्षमता बिकास, खेलकुद, नगरपालिका र संसद कसरी चल्छ भनि विद्यार्थीलाई सिकाउने लगायतका कार्यक्रम अगाडि सारेका छौं ।’

लिला वल्लभ न्यौपान : प्रमुख प्रशासकीय अधिकृत

नगरपालिकाले स्थानीय सरकारको शासन, विकास र सेवा प्रवाह व्यवस्थापनमा वाषिर्क विकास कार्यक्रम निर्माण गर्दादेखिनै ध्यानपूर्वक हेरेर अगाडि बढिरहेको अवस्था छ । दोश्रो कार्यकालका लागि जनप्रतिनिधि आउनुभयो उहाँहरुको पहिलो वर्ष पनि भयो र आगाडि ५ वर्षको कार्यकाललाई दिशानिर्देश गर्ने गरी, ५ वर्षको आधार वर्षको रुपमा पहिलो र दोस्रो वर्षलाई लिने गरी अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपाने बताउँछन् । ‘खास सुशासन कायम गर्नका लागि सेवा नागरिकमैत्री हुनुपर्छ, पारादर्शी र झन्झटमुक्त हुनुपर्छ ।

नागरिकको सरकारी कार्यालयप्रति जुन मोह भंग भएको छ त्यो मोह पुनःजाग्रित गर्नुपर्छ भन्ने हिसाबले शुक्लागण्डकी नगरपालिका लागिरहेको छ’, उनले भने, ‘मुख्य गरी सेवाप्रवाहलाई व्यवस्थापन गर्नका लागि नगरपालिकामा सेवा प्रवाह संचालन केन्द्र भन्ने विषेश संरचना कानूनबाट निर्माण गरेर २०७९ जेठ १९ गतेदेखि सुरु गर्‍यौ र असारमा यो सञ्चालन सम्बन्धी कानून पनि आयो, एक महिनाको परीक्षण पछि अहिले हामीले सेवा प्रवाह सञ्चालन केन्द्रमार्फत नागरिकहरुलाई झन्झटमुक्त सेवा प्रवाह गर्ने गरी व्यवस्थापन गरेका छौं ।’

नागरिकहरु आउनुभएपछि हामीले फाइल बुझ्छौ, दर्ता गर्छौ, कामको वर्गीकरण, सेवा प्रवाह गर्छौ र नागरिकको हातमा फाइल हस्तान्तरण गर्ने गरी सेवा प्रवाह कक्षा सञ्चालन गरिएको उनले बताए । उनले भने, ‘सेवा हस्तान्तरण संगसगै नागरिकहरुलाई टोकन दिइन्छ । सर्भेक्षणमा दैनिक हामीले प्रवाह गरेको सेवा नागरिकहरुलाई कस्तो लागिरहेको छ । जनताहरुले हामीलाई कसरी हेरिरहनुभएको छ । हामीले वास्तवमा राम्रो भएको विषयलाई उहाँहरुको दृष्टिकोणबाट कस्तो छ भनि मापन गरी दैनिक सर्भे गरिरहेका छौं । त्यस्तै पारादर्शीताको विषयमा हामीले हाम्रा विभिन्न माध्यमबाट सार्वजनिक गरी जानकारी पनि दिने गरेका छौं ।’

नगरकार्यपालिकाको बैठकका निर्णय, सभाका निर्णय, विभिन्न समितिका निर्णयहरु सबै नागरिकले थाहा पाउनुपर्छ भन्ने हिसावले पारदर्शी भित्तो बनाइएको छ । अब आउने आर्थिक वर्षदेखि एकाउन्टेवेलिटि प्रमोशन सेन्टर उत्तरदायित्व प्रवर्द्धन केन्द्रका रुपमा अझै थप सु-शासनका सूचकहरुलाई राख्ने गरी काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानले बताए।

योजनाका हिसावले ५ वर्षको कार्यकालमा पहिलो वर्षलाई पूर्वाधार बिकासको हिसावमा अगाडि बढिएको छ भने आगामि वर्ष सामाजिक बिकासको क्षेत्रमा बराबर नै लागनी गरेर जाने र आउने वर्षहरुमा आर्थिक, सामाजिक बिकास र पूर्वाधार विकासलाई सन्तुलन गर्दै मानवीय विकास र दिगो विकासमा टेवा पुर्‍याउने गरी शुक्लागण्डकी नगरपालिकाले योजनाहरु वर्गीकरण गरेर अगाडि बढेको उनले बताए ।

राष्ट्रिय योजना आयोगले जारी गरेको निर्देशिका र कार्यविधि अवलम्बन गर्दै नगरपालिकाले आवधिक योजना निर्माणका लागि आगमि चार वर्षको रुपरेखा तय गर्ने गरी अगडि बढिरहेको छ । ‘जनप्रतिनिधिहरु निर्वाचित भएर आउने बित्तिकै जनप्रतिनिधिहरुलाई संगै राखेर तपाईहरुको ५ वर्षे योजना के छ ? भनेर एउटा समन्वय गरेका थियौं । त्यसमा हामीले करिव २५०/३०० योजनाहरु प्राप्त भएका थिए’, उनले भने, ‘जनप्रतिनिधिबाट प्राप्त योजनाहरुलाई पनि हामीले आगमि आर्थिक वर्षमा वार्षिक योजनाका रुपमा जोड्दै जनप्रतिनिधिहरुले नागरिकसामु गरेका प्रतिवद्धता पुरा गर्ने गरी हामी परिचालित भएको अवस्था छ ।

हामी अलि फरक ढंगबाट सेवा प्रवाह गर्न लागिरहेका छौ । नागरिकहरुलाई सन्तुष्टि र सेवा प्रवाह गर्नका लागि पहिला कर्मचारी कै क्षमता विकास हुनुपर्छ, कर्मचारी नै उत्प्रेरित हुनुपर्छ, आफै समर्पित भएर काम गरेनौ भने लक्ष्य हासिल गर्न सकिदैन । एउटा प्रशासनिक विकास नभएसम्म समयमा विकास व्यवस्थापन ससक्त हुँदैन । त्यसकारण यहाँका प्रविधिक, योजना, प्रशासन, लेखा शाखामा काम गर्ने साथीहरुलाई सेवा प्रवाहमा उहाँहरुको मनोवृत्ति, बानीमा परिवर्तन ल्याउने र नयाँ जोस जागरसहित अगाडि बढ्न मोटिभेसन सहित अगाडि बढेका छौं ।’

यस्तै, स्थानीय सरकारहरको आन्तरिक श्रोत कमजोर छ । राष्ट्रिय हिसावमा आर्थिक गतिविधि कमजोर भइरहेको र स्थानीय सरकारहरु पनि त्यसको प्रभावमा परिरहेका छन् । ‘हाम्रो सेती नदीको ७ वटा घाटहरु छन् । ती घाटहरुमा पनि अघिल्लो वर्षझै बढेर ठेक्का जान सकिरहेको छैन । त्यस्तै, व्यपार व्यवसायबाट आउने करहरु छ त्यो पनि त्यस्तो उच्च रुपले आइरहेको छैन ।

यसमा राजश्वको दर बढाएर हामीले क्षतिपुर्ति लिने भन्दा पनि दायरा बनाएर जाने तयारी गरेका छौं’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानले भने, ‘वनमार्फत आउने राजश्व आइरहेको छैन, विभिन्न व्यवसाय दर्ता नभएको र दर्ता भएकाबाट राजश्व आउन सकिरहेको छैन, फोहोरमैलाबाट आउने राजश्व, विज्ञापन करलाई पनि थप व्यवस्थित गरेर जाने सोच बनाइरहेका छौं । अब हामील कम्तिमा नगरपालिकाभित्रका व्यपार व्यवसाय र यहाँका गतिविधिलाई आर्थिक विकाससंग जोड्ने गरी नयाँ राजश्व सुधार कार्ययोजना अनुरुप अहिले राजश्व शिथिल भएका क्षेत्रहरुमा दर कायम गरेर अगाडि बढाउने र नयाँ क्षेत्रहरु पहिचान गरेर राजश्वका श्रोतहरु बढाउने सोचमा छौं ।’

यस्तै, जग्गा वर्गीकरण कार्य नटुङ्गिदा समेत पालिकाको राजश्व घटिरहेको छ । प्राकृतिक श्रोतहरु ठिक रुपमा प्रयोग र दर कायम गर्न सक्यौ भने अगामि वर्षमा राजश्व बढ्ने अपेक्षा गरिएको उनले बताए । ‘शुक्लागण्डकी नगरपालिकामा नीजि जग्गा उत्खननको आकर्षण पनि छ तर हामीले ऐनमा ५० प्रतिशत कर लगाएको हिसावले निरुत्साहित भएको पनि छ । तर राजश्वको दर घटाएर हामी जान सक्दैनौं । वस्तविक क्षेत्रको मुल्याङकन गरी कार्यविधिहरु परिवर्तन गरी त्यस क्षेत्रले आम्दानी गरेको २० देखि ३० प्रतिशत लिन सक्ने गरी हामीले योजना बनाएर अगाडि बढेको अवस्था छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker