व्यास नगरपालिकाद्वारा सञ्चारकर्मीहरुसंग परामर्श

दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम तर्जुमा सन्दर्भमा आइतबार सञ्चारकर्मीहरूसँग परामर्श गरेको छ । नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूले नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई विविध सुझावहरू दिएका थिए ।
कार्यक्रममा पत्रकारहरूले बजेटलाई जनमुखी, पारदर्शी र दीर्घकालीन समाधानमुखी बनाउन जोड दिँदै स्थानीय तहको नीति निर्माणमा सञ्चारमाध्यमको सुझावलाई प्राथमिकताका साथ लिनुपर्ने धारणा राखे । विकास निर्माणका कार्यमा ढिलासुस्ती, बजेट कार्यान्वयनमा कमजोरी, बेरुजुरहित र गुणस्तरमा प्रश्न उठ्ने अवस्था हटाउन कार्यान्वयन र अनुगमन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव दिइएको थियो ।
विशेषतः रोजगार तथा स्वरोजगारलाई बजेटमा प्रमुख प्राथमिकता दिनुपर्ने सुझाव दिइएको थियो । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत सेवामा देखिएका समस्या समाधानका लागि दीर्घकालीन रणनीति सार्वजनिक गर्न पत्रकारहरूले आग्रह गरे ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले सञ्चारकर्मीहरूको सुझावप्रति आभार प्रकट गर्दै नीति तथा कार्यक्रम जनपक्षीय, पारदर्शी र सहभागी बनाउने प्रतिबद्धता जनाए । उनले डिजिटल प्रशासनलाई विस्तार गर्दै नागरिक पहुँचमा आधारित प्रणाली विकास गरिने जानकारी दिए। उनले भने, ‘जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा बाढीपहिरो व्यवस्थापनका लागि वडा तहमा नै विशेष बजेट सुनिश्चित गरिनेछ ।’
कार्यक्रममा नगर प्रमुख न्यौपानेले व्यास नगरभित्र सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरणलाई निरन्तरता दिने, एक जना खोज पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने तथा पत्रकार महासंघको समन्वयमा सञ्चारकर्मीहरूको बीमा कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।










