तनहुँको दमौलीका व्यवसायीको गुनासो : दशैं आयो तर ग्राहक आएनन्
- नारायण खड्का (दमौली)
नेपालीको ठूलो चाड बडादशै घर आँगनमा भित्रिसकेको छ । दशैं पर्व मनाउनका लागि अघिल्ला वर्षहरुमा चहलपहल र निकै उल्लासपूर्ण माहोल हुन्थ्यो । तर, यस वर्षत्यस्तो छैन । कोरोना कहरको चपेटामा पर्दा यतिबेला सबै क्षेत्र प्रभावित छन् । तनहुँको सदरमुकाम दमौली बजार पनि कोरोना कहरका कारण सुस्ताएको छ । दशै पर्वमा समेत सोचेजस्तो व्यापार व्यवसाय नहुँदा तनहुँका व्यवसायीहरु चिन्तित छन् ।
तनहुँको सदरमुकाम दमौली बजार जिल्लाको व्यापारिक केन्द्र पनि हो । यहाँको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएपनि बजार क्षेत्र पूर्ण रुपमा खुलेका छन् । राजमार्ग तथा भित्री र ग्रामीण सडकहरुमा निजी तथा सार्वजनिक यातायातका साधान पनि पूर्णरुपमा सञ्चालनमा आएका छन् ।
लकडाउन खुकुलो बनेसंगै कोरोना संक्रमण त्रासकै बीच व्यवसायीहरुले आ-आफ्नो व्यापार व्यवसाय खुल्ला गरी दैनिकीलाई सहज बनाउँदै लगेका छन् । अहिले व्यास नगरपालिकाको दमौली बजार क्षेत्र कोरोनाको हटस्पटका रुपमा देखिन थालेकाले ग्रामीण क्षेत्रबाट मानिसहरु बजार नआउँदा व्यापार हुन नसकेको व्यास-२ सफासडकका फेन्सी व्यवसायी हरिभक्त श्रेष्ठ बताउँछन् ।
‘चाडपर्व आयो तर ग्राहक आएनन्’, श्रेष्ठले भने, ‘दमौलीमा व्यापार गरेको ३०/३५ वर्ष जति भयो यसरी व्यापार व्यवसाय सुनसान बनेको थाहा पाएको थिन। हाम्रो व्यवसाय ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित छ तर, अहिले गाउँबाट बजार आउँदा वडाअध्यक्ष सिफारिस लिएर आउनु पर्दा पनि ग्राहक आउन नसकेका हुन कि ।’
दमौली बजार आउन कतिपय वडा कार्यालयले स्वीकृति दिनुपर्ने अवस्था भएकाले पनि सर्वसाधारण सहज रुपमा बजार आउन नसकेको व्यवसायीहरुको गुनासो छ । व्यास-२ डाङ्ग्रेखोल्सीका इब्राहिम मियाँ भन्छन्, ‘पसल खोलेर बस्नुमात्रै छ, रोडमा मानिस हिडेपनि पसलमा छिर्दैनन् । सबैलाई कोरोना संक्रमणको त्रास छ ।’
बजार क्षेत्रमा कोरोना संक्रमण फैलिएपछि ग्रामीण क्षेत्रबाट दमौली बजार आउजाउँ गर्ने मानिसको संख्या कम हुँदै गएको छ । चाडपर्वका लागि आवश्यक पर्ने नयाँ कपडा, खाद्यन्न लगायतका वस्तु खरिद बिक्रीले दमौली बजार यतिबेला भिडभाड हुनुपर्ने हो । तर, अहिले त्यस्तो नभएको व्यास-३ सफासडकका व्यवसायी विन्दुलाल श्रेष्ठ बताउँछन् ।
कोभिड-१९ संक्रमण त्रासकै बीच करिब सात महिना पछि यहाँका व्यवसायीहरुले आफ्ना व्यापार व्यवसाय खोलेका थिए । ठूला चार्डपर्वहरु नजिकिएसंगै लकडाउनले दिएको पीडालाई भुल्दै व्यापार हुन्छ कि भन्ने आशमा व्यवसाय त खुल्ला गरे तर सोचे जस्तो नभएको व्यवसायीहरु बताउँछन्।
चाडवाड नजिकिएपनि बजारमा मनिसको चहलपहल कम हुँदा व्यापार व्यवसाय सहज रुपमा हुन सकेको छैन । बुझेकै मानिसले लापरवाही गर्दा संक्रमण समुदायमा फैलिएको र व्यवसाय पनि धरापमा परेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ (राकु) बताउँछन्।
‘व्यापार नहुँदा यतिबेला बजार क्षेत्रमा कोठा भाँडामा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु बढि मारमा परेका छन्’, सभापति श्रेष्ठ भन्छन्, ‘चार्डपर्वको समयमा व्यापार होला र बैंकको किस्ता तथा अन्य ऋण तिर्ने योजना बनाएका व्यवसायीहरु सोचेजस्तो व्यापार नहुँदा रोगले भन्दा अब भोकले मरिन्छकी भन्ने चिन्तामा परेका छन् ।’
दमौली मात्रै होइन जिल्लाका अन्य ९ वटै स्थानीय तहका बजार क्षेत्रको व्यापार व्यवसाय सुस्ताएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएका व्यवसायहरु अहिले समस्यामा परेका छन् । बजार क्षेत्रमा भाइरस संक्रमण फैलिएकाले सहज रुपमा मानिसहरु बजार आउन सकेका छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले शनिबार सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा हालसम्म ६४८ जनामा संक्रमण पुष्टि भएको छ भने ४१५ जना निको भएर घर फर्किएका छन् । जिल्लामा हाल २२४ जना सक्रिय संक्रमित रहेका छन भने एकै परिवारका ३ जना सहित ९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।










