तनहुँमा २५४ जना क्षयरोगका विरामी, क्षयरोगका विरामी पहिचान गर्न कठिन
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा क्षयरोगका कूल २५४ जना बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी व्यास नगरपालिकामा ६८, शुक्लागण्डकी नगरपालिकामा ३५, भानु नगरपालिकाका ३२, देवघाट गाउँपालिकामा २२, भीमाद नगरपालिकामा २४, आँबुखैरेनी गाउँपालिकामा २७, म्याग्दे गाउँपालिकामा १३, घिरिङ गाउँपालिकामा सात, ऋषिङ गाउँपालिकामा ११ र बन्दीपुर गाउँपालिकामा १५ क्षयरोगका बिरामी छन् ।
यसमध्ये चालु आवको साउनदेखि फागुनसम्म जिल्लामा १४२ क्षयरोगका बिरामी पहिचान भएका छन् । चालु आवमा व्यास ४१, आँबुखैरेनी १५, भानु १९, बन्दीपुर १६, शुक्लागण्डकी २१, भीमाद ११, घिरिङ ११, ऋषिङ चार र म्याग्देमा चारजना क्षयरोगका बिरामी थपिएका छन् । नियमित ६ महिना औषधि सेवन गरेपश्चात् ७० प्रतिशत उपचार सफल भएको कार्यालयले जनाएको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र र नौवटा प्रयोगशाला छन्।
नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि ६ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । चौवालीस हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । पन्ध्रदेखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट संक्रमित हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा एक हजार ९४७ क्षयरोगी छन् भने ५७९ उपचार केन्द्र रहेको छ । गण्डकी प्रदेशमा ७० जनाको क्षयरोगबाट मृत्यु भएको तथ्याङ्क छ ।
यस्तै, नेपालमा दैनिक १८९ क्षयरोगका बिरामी थपिने गरेको तथ्याङ्क रहे पनि तनहुँमा भने क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको बताइएको छ । विगत एक वर्षकोमा कोभिड संक्रमणका कारण क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको हो । कोभिड संक्रमणका कारण कोभिड न्यूनीकरणमा खटिनुपर्दा क्षयरोगका बिरामी पहिचान गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ट अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।
यद्यपि अशिक्षा, अज्ञानता र भौगोलिक कारणले पनि क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको सुवेदीको भनाइ छ । ‘क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ’, सुवेदीले भने, ‘त्यसका लागि सबै पक्षको सहयोग अपरिहार्य हुन्छ ।’
सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । त्यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको सुवेदीले बताए । ‘उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग र्सार्न सक्छ’, उनले भने, ‘सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।’ क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
‘दुइ हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार संकलन गरी परीक्षणको व्यवस्था मिलाएका छौं’, सुवेदीले बताए । क्षयरोगी पहिचानका लागि कन्टयाक्ट ट्रेसिङको व्यवस्था पनि छ । सुवेदीका अनुसार ६ महिनामा दुइपटक कन्टयाक्ट ट्रेसिङ गरिन्छ । दुइ महिनामा पहिलोपटक र ६ महिनाभित्र अर्को पटक गरी कन्टयाक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ ।
सुवेदीका अनुसार क्षयरोगी भएको घरका पाँच वर्षुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरेको छ । उनले घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरूलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको बताए । लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
‘पछिल्लो एक वर्षकोभिडका कारण समस्या भएको हो, तर जनशक्ति अभाव, अज्ञानता र अशिक्षा नै यसको मुख्य कारण हो’, प्रमुख अधिकारीले भने, ‘लुकेर बसेका क्षयरोगी पत्ता लगाउन जन्तर भन्ने संस्थाले गाउँगाउँ पुगेर सहयोग गरिरहेको छ । नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ ।’










