म्याग्देका उत्कृष्ट कर्मचारी सम्मानित, पत्रकार, बैंक र उपभोक्ता समिति पनि पुरस्कृत

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पालिकाको समाचार लेख्ने पत्रकार, बैंक र उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ ।
गाउँपालिकाले कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ८ जना कर्मचारीलाई सम्मान गरेको छ । चालु आव २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहका अवसरमा उनीहरूलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।
सम्मानित हुने कर्मचारीहरूमा सूचना प्रविधि अधिकृत आकाश गुरुङ, जनस्वास्थ्य निरीक्षक सक्षम घिमिरे, वडा सचिव संगीता बगाले, सामाजिक परिचालक अनिता वाग्ले, नगर प्रहरी कमान्डर चन्द्रकुमार श्रेष्ठ, पशुसेवा शाखाकी रचना घिमिरे, एम्बुलेन्स चालक टेकनारायण श्रेष्ठ तथा कार्यालय सहयोगी बिना श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
सोही अवसरमा गाउँपालिकाले सम्पादन गरेका कार्यक्रमको प्रचार प्रसारमा योग्दान पु¥याएको भन्दै प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (बिबि)लाई पनि नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा विभिन्न साझेदार संस्थाहरूलाई समेत सम्मान गरिएको थियो । बैंकिङ सेवामार्फत विकासमा सहकार्य गरेको भन्दै लक्ष्मी सनराइज बैंक थर्पु शाखा र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक जामुने शाखालाई सम्मान गरिएको छ ।
यस्तै, पूर्वाधार निर्माणमा योगदान पु¥याएको भन्दै निर्माण व्यवसायी बलराम शिवाकोटी र एक स्थानीय बाटो निर्माण उपभोक्ता समितिलाई पनि सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सम्मानित व्यक्ति तथा संस्थाहरुलाई सम्मान एवं पुरस्कार वितरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले सेवामा उत्कृष्टता देखाउने कर्मचारीहरूलाई सम्मान गर्नु संस्थागत प्रोत्साहनको आधार हुने बताए । उनले भने, “कामको कदर गर्नु संस्थालाई अघि बढाउने मूल ऊर्जा हो । यस्ता सम्मानले अरू कर्मचारीहरूमा पनि थप प्रेरणा दिन्छ ।”
कार्यक्रममा नीतिगत योजना सार्वजनिक गर्दै पालिकाले आगामी वर्षलाई सेवा प्रवाहमा गुणस्तर, पारदर्शिता र नागरिकमैत्री दृष्टिकोणमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।










