तनहुँ बाढीपहिरोको जोखिममा, सतर्कता अपनाउन आग्रह, ६६ हजार बढी नागरिक प्रभावित हुने अनुमान

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो लगायतका जोखिम रहने भएकाले मादी, सेती, मस्र्याङ्दी, त्रिशुली, कालीगण्डकी नदी लगायत स्थानीय खोलाहरमा पानीको सतह बढी जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
प्रशासकीय अधिकृत सिर्जना रेग्मीले आइतबार सार्वजनिक सूचना जारी गरी नदी तथा खोला आसपास तटीय क्षेत्रका वासिन्दाहरु सतर्क रहन साथै पृथ्वीराजमार्ग, डुम्रे वेसीशहर सडकखण्ड लगायत स्थानीय ग्रामीण सडकहरुमा सवारीसाधन चलाउँदा उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । रातको समयमा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र गर्नैपरेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेरमात्र यात्रा गर्न आग्रह गरिएको छ ।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म अत्याधिकदेखि हलुका वर्षा हुने अनुमान गरेको छ । तनहुँ जिल्लामा पनि शनिबार रातिदेखि वर्षा भइरहेको छ ।
तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान
यस्तै, मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार ३५० जना प्रभावित हुने अनुमान गरिएको हो ।
यस वर्षको मनसुनबाट प्रभावित हुने जनसंख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा ६५ हजार ६९९ परिवारका दुई लाख ८७ हजार १०० प्रभावित हुने आँकलन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।
मनसुनजन्य जोखिमको हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई पहिलो जोखिमयुक्त जिल्लाका रूपमा राखिएको उनले बताए । प्रजिअ अधिकारीले भने, ‘मनसुनजन्य विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी प्रभावितहरूको आपतकालीन आवश्यकतालाई समयमा प्रभावकारी र समन्वयात्मक ढङ्गबाट पूरा गर्न प्रतिकार्य योजना बनाइएको छ ।’
प्रतिकार्य योजनामा जिल्लाभित्रमा विगतमा घटेका मनसुनजन्य विपद्का घटना तथा सोबाट भएका क्षति विश्लेषण गरी प्राथमिकता निर्धारण गरिएको उनले जनाए । ‘विपद्मा खोज तथा उद्धारका लागि तत्काल परिचालित हुनु र प्रतिकार्यमा हुने ढिलाइ तथा अन्योलता हटाउन जिम्मेवार तथा सहयोगी निकायको स्पष्ट जिम्मेवारी तोकी प्रभावकारी समन्वय तथा सञ्चार कायम गरिएको छ’, प्रजिअ अधिकारीले बताए ।
उनका अनुसार जोखिमको प्राथमिकताका आधारमा व्यास नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, भानु नगरपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, भिमाद नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, शुक्लागण्डकी नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ।
देवघाट गाउँपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, बन्दीपुर गाउँपालिकामा पहिरो पहिलो र आगलागी दोस्रो, घिरिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, ऋषिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, आँबुखैरेनी गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो र म्याग्दे गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ।
यस्तै, चालु आर्थिक वर्षमा मनसुनजन्य विपद्का घटनाहरूका आधारमा जिल्लामा जोखिमको प्राथमिकतामा पहिरो, बाढी, आगलागी, महामारी, चट्याङ, हावाहुरी र सुक्खा खडेरी रहेका प्रजिअ अधिकारीले जानकारी दिए। उनका अनुसार मनसुनजन्य विपद्का घटनामा उद्धार तथा राहतमा प्रयोग गर्न खुला स्थान र आश्रयस्थल तयारी अवस्थामा छन् ।










