भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा
दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ८ करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले शनिबार दमौलीमा एक कार्यक्रम गरी गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र चालु आर्थिक वर्षका लागि प्राप्त बजेट र कार्यक्रम सार्वजनिकीकरण गरेको हो ।
कार्यक्रममा केन्द्रले जिल्लाका किसान र पशुपालकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । सार्वजनिक विवरणअनुसार, सबैभन्दा बढी बजेट पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्द्धनका लागि २ करोड १ लाख ६१ हजार रुपैयाँ र पशुमा पूर्ण खोप कार्यक्रमका लागि १ करोड २१ लाख रुपैयाँ छुट्याइएको छ ।
यी दुई कार्यक्रमले मात्रै कुल बजेटको आधाभन्दा बढी हिस्सा ओगटेका छन् । यसको अर्थ, केन्द्रले जिल्लामा पशुपालनको उत्पादकत्व बढाउने र पशुपन्छी स्वास्थ्य सुरक्षित गर्ने दुवैलाई मुख्य प्राथमिकतामा राखेको छ ।
यस्तै, केन्द्रले व्यवसाय प्रवद्र्धन र खोपपछि पशुपन्छी तथा मत्स्य स्वास्थ्य कार्यक्रमका लागि ३९ लाख ७० हजार रुपैयाँ र पशु आनुवंशिक स्रोत संरक्षण कार्यक्रम २ लाख ८० हजार रुपैयाँ बजेट छुट्याइएको छ । आनुवंशिक स्रोत संरक्षणमा रकम न्यून भए पनि दीर्घकालीन दृष्टिले यो कार्यक्रम महत्वपूर्ण मानिने केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रविनसन अधिकारीले बताए ।
केन्द्रले क्षमता अभिवृद्धि कार्यक्रमका लागि ९ लाख ३५ हजार रुपैयाँ र सुशासन तथा पारदर्शिता तर्फ ८ लाख ६० हजार रुपैयाँ बजेट छुट्याइएकाले संस्थागत सुधारलाई जोड दिइएको देखिन्छ । यसबाट कर्मचारी दक्षता, सेवा सहजता र पारदर्शिता अभिवृद्धि हुने अपेक्षा गरिएको केन्द्र प्रमुख अधिकारीले बताए ।
प्रशासनिक खर्च तर्फ १ करोड ६३ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा चालु आर्थिक वर्षका लागि पशुपन्छी तथा मत्स्य स्वास्थ्य कार्यक्रमका लागि ३९ लाख ७० हजार रुपैयाँ, एकीकृत स्वास्थ्य कार्यक्रमका लागि ६ लाख ८० हजार रुपैयाँ, पशु प्रजनन् तथा नश्ल सुधार कार्यक्रमका लागि ३ लाख रुपैयाँ र पशु आहारा प्रवद्र्धन कार्यक्रमका लागि २ लाख रुपैयाँ गरी चालु तर्फ कुल ५ करोड ५८ लाख १५ हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । यस्तै पुँजीगत तर्फ २ करोड ५९ लाख ५० हजाररुपैयाँ बजेट विनियोजन भएको छ ।
तनहुँमा ३ लाख २१ हजार जनसंख्या र ७८ हजार ३०९ परिवारमध्ये करिब ६६ प्रतिशत (४९ हजार ६४०) परिवार पशुपालनमै निर्भर रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । त्यसैले पशुपालन क्षेत्रलाई बलियो बनाउन केन्द्रको भूमिका प्रत्यक्ष रूपमा किसानको आम्दानीसँग जोडिएको केन्द्र प्रमुख अधिकारीले बताए ।
कुल बजेटमध्ये ५० प्रतिशतभन्दा बढी रकम दुई शीर्षक (व्यवसाय प्रवर्द्धन र खोप) मा खर्च हुने देखिन्छ । आनुवंशिक स्रोत संरक्षण, आहारा प्रवर्द्धन, प्रजनन् र एकीकृत स्वास्थ्य जस्ता दीर्घकालीन र संरचनात्मक सुधार कार्यक्रममा भने न्यून रकम छुट्याइएको छ । यसले तत्काल नतिजा दिने कार्यक्रमलाई प्राथमिकता दिएको देखाए पनि दीर्घकालीन सन्तुलित विकासमा अझै चुनौती रहेको छ ।
कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन भएमा जिल्लाका पशुपालक किसानले उत्पादनमा वृद्धि गर्ने, रोग नियन्त्रण गर्ने र बजारमा प्रतिस्पर्धी बन्ने सम्भावना छ । साथै, अर्गानिक उत्पादनमार्फत स्थानीय र बाह्य बजारमा माग बढ्दा आयआर्जनमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ ।
केन्द्रको तथ्याङ्क अनुसार तनहुँ जिल्ला मासु, दुध र अण्डामा आत्मनिर्भर रहेपनि माछामा भने उत्पादन बढाउनेपर्ने देखाइएको छ ।
यस्तै, केन्द्रले गत आवमा ८ करोड ५३ लाख बजेट प्राप्त गरेकोमा ५६ दशमलव ३६ प्रतिशत बित्तीय र ६७ दशमलव ६० प्रतिशत भारित प्रगति देखाउन सकेको छ । कार्यालय परिसरमा मोडेल भेटेरिनरी अस्पतालका लागि प्राप्त २ करोड ८० लाख रुपैयाँ बजेटको जम्मा ५ दशमलव २ प्रतिशत भारित प्रगति भएको देखाइएको छ ।
उक्त भवनका लागि यस वर्ष पनि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । निर्माण पक्षका लापरवाहीका कारण भवन निर्माण कार्य अधुरै रहेको छ ।










