गण्डकी एमाले जेठ २ मा फर्कियो, पिएसले छाडे, किरणको पुनर्वहाली, तनहुँबाट को को परे ? (सूचीसहित)

नेकपा एमालेभित्र कतिपय जिल्ला र सुदूरपश्चिम सिंगै प्रदेशमा १० बुँदे सहमति र जेठ २ को विवाद चर्किरहेका बेला कुनै समस्या नै नरहेको गण्डकी प्रदेश कमिटी भने र्सलक्कै २०७५ जेठ २ मा फर्किएको छ ।
गण्डकीमा एमाले विवादको बेला पनि केपी ओली पक्षको एकल वर्चश्व थियो । प्रायः सबै जिल्ला कमिटी पनि संस्थापन पक्षकै नेतृत्वमा थिए भने जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङ र पछिका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ तथा प्रदेश अध्यक्ष जगत विश्वकर्मा पनि एउटै समूहका नेता हुन् ।
तर गण्डकी प्रदेश कमिटी जेठ २ अघिकै अवस्थाबाट क्रियाशील गराउने निर्णय भएको छ । जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नै पूरानो संरचना व्युँताउने घोषणा गरेपछि उनी इन्चार्जको जिम्मेवारीबाट हटेका छन् ।
अब एमाले गण्डकीको संयोजक किरण गुरुङ र सचिव जगत विश्वकर्मा भएका छन् । जेठ २ अघिका सहसंयोजक गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएकाले जगत विश्वकर्मालाई सचिव बनाइएको हो ।
यसअघि नेकपा विभाजनपछि जगत प्रदेश कमिटीको अध्यक्ष र गोविन्द नेपाली सचिव थिए । अब गोविन्द नेपाली साबिककै कार्यालय सचिव बनेका छन् ।
पोखरामा सम्पन्न बैठकले ३०० जनालाईं प्रदेश कमिटी सदस्यमा मनोनित गरेको नेपालीले बताए । यसअघिका १०९ जना सदस्य समेत थप्दा अब ४०९ सदस्यीय प्रदेश कमिटी बनेको छ ।
त्यस्तै ५३ जना थपेर ६७ सदस्यीय सचिवालय गठन भएको नेपालीले बताए । एमाले गण्डकी प्रदेश कमिटीका पछिल्ला निर्णय र मनोनित सदस्यहरुसहितको र्सकुलर यस प्रकार छ ।
नेकपा एमाले गण्डकीमा तनहुँका २० जना मनोनित
नेकपा एमाले गण्डकी प्रदेश कमिटीमा तनहुँका २० जना मनोनित भएका छन् । प्रदेश कमिटीको मंगलबार सम्पन्न बैठकले तनहुँका २० जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको हो ।
मनोनित हुनेमा रामचन्द्र उपाध्याय, हरि पाण्डे, देवीबहादुर बस्नेत, देवु विष्ट, कृष्णराज ढकाल, श्यामराज महत, विश्वबन्धु भण्डारी, सूर्यबहादुर गुरुङ, धर्मराज खनाल, उपेन्द्र देवकोटा, इन्द्रबहादुर कुंवर, रामबहादुर गुरुङ, हर्क गुरुङ, समिम मियाँ, उत्तमप्रकाश पण्डित, सीताराम बजागाई, होम थापा, मोहम्मद सफिक मियाँ, खिलबहादुर राना र उमाकुमारी हमाल रहेका छन् ।
यस्तै, प्रदेश संगठन कमिटी सचिवालयमा केदार सिग्देल, नारायण खनाल, भक्त रर्साईली मनोनित गरिएको छ ।










