पृथ्वीराजमार्ग पश्चिम खण्ड : २ वर्षमा ४.७१ प्रतिशत मात्र भौतिक प्रगति 

भञ्ज्याङ समाचारदाता/तनहुँ

पृथ्वीराजमार्गको मुग्लिङ-पोखरा सडक विस्तार कार्यले गति लिन सकेको छैन । आयोजना सुरु भएको करिव २ वर्ष पुग्नै लाग्दा जम्मा ४.७१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’को रुपमा रहेको मुग्लिङ-पोखरा सडक खण्डलाई आँबुखैरेनी-जामुने पूर्वी खण्ड र जामुने-पोखरालाई पश्चिम खण्ड गरी दुइ भागमा विभाजन गरी सडक बिस्तार कार्य भइरहेको छ ।

विसं २०७८ जेठ ३ गते पश्चिम खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोडमा रुपैयाँमा सम्झौता गरी काम सुरु गरेको थियो । पश्चिम खण्डमा यो अवधिसम्म १२.२८३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा जम्मा ४.७१ प्रतिशत मात्र प्रगति भएको छ । यस खण्डको १५ प्रतिशत वित्तिय प्रगति भएको देखाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडक बिस्तार कार्यले अपेक्षित गति नलिएपछि सरोकारवाला निकायले कामको प्रगतिका विषयमा चासो देखाएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले निर्माण पक्षसंग कामको ढिलासुस्तिका विषयमा जानकारी लिएको छ ।

निर्माण पक्षले राजमार्गको पश्चिम खण्ड निर्माण सम्पन्न गर्न एक हजार ९५ दिन काम गर्ने सम्झौता गरेको र हालसम्म ५४८ दिन काम गरेको निर्माण पक्षका टिम लिडर शेरबहादुर घिमिरेले बताए । उनले भने, ‘यो अवधिसम्म हामीले सडक चौडा गर्ने, रुख काट्ने, टेवा पर्खाल निर्माण गर्ने, ग्याविङ जाली भर्ने, कल्भर्ट तथा साना पुल निर्माण लगायतका कार्यलाई तीव्रता दिएका छौं ।’

हालसम्म ३८.८३३ किमि सडक चौडा गर्ने काममध्ये १४ कि.मि. सडक चौडा पार्ने काम भइरहेको उनले बताए । उनका अनुसार ३ हजार ५३४ वटा रुख कटान गर्नुपर्नेमा ३ हजार ४६७ वटा रुख सडकसिमाबाट हटाइसकिएको छ । त्यस्तै, हालसम्म २.२ किलोमिटर टेवा पर्खाल निर्माण सम्पन्न गर्नुपर्नेमा १.३८ किलोमिटरसम्मको काम भइरहेको छ ।

‘यो सडक खण्डमा ४५ वटा कल्भर्ट तथा पुलपुलेसा बनाउनुपर्नेमा गत माघ महिनासम्म ३३ वटाको काम भइरहेको छ’, घिमिरेले भने, ‘सडकसिमाभित्र पर्ने विद्युतका पोलहरु स्थानन्तरण नगरिनु, खानेपानीका श्रोत संरक्षण तथा वितरण पाइप लाईनका कारण काममा अवरोध आउने गरेको छ । यस्तै, कास्की खण्डको दुइ स्थानमा विद्युतको ट्रान्स्मिसन टावर स्तानन्तरण नहुँदा पनि काममा अवरोध आएको छ ।’ सडकको स्तरोन्नती हुने क्षेत्रभित्र २५ भन्दा बढी खानेपानी संस्था/उपभोक्ता समितिका पाइप लाइन तथा संरचनाहरु रहेका छन् ।

पश्चिम खण्डमा १३८ वटा भौतिक संरचना हटाउनुपर्नेमा १२९ वटा संरचना धनीले मुआब्जा बुझेका आयोजनाका रिसेटलमेन्ट स्पेसलिष्ट चिन्तमणि शर्माले बताए । उनका अनुसार करिव २ करोड ४८ लाख रुपैयाँ सम्झौता भएकोमा एक करोड ९३ लाख ७९ हजार रुपैयाँ मुआब्जा बितरण गरिसकिएको छ । उनले भने, ‘तनहुँको कोत्रे खण्डका ४/५ घरधनीहरुले मुआब्जाको रकम कम भएको भन्दै बुझ्न मानिरहेका छैनन् ।’

यस्तै, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले निर्माणाधिन सडकबाट अत्याधिक धुलो उड्ने गर्दा यात्रु तथा सडक आसपासका बस्तिका बसिन्दाले समस्य झेल्नुपरेको बताए । उनले भने, ‘सम्झौता अनुसार समयसमयमा सडकमा पानी हालेर धुलोको मात्र काम गराउनुपर्नेमा त्यो हुन सकेको छैन । निर्माण पक्षले सडकमा आवश्यक मात्रमा पानी हाली धुलोको मात्रा कम गराउनुपर्ने देखिएको छ ।’

सडक विस्तारका क्रममा निर्माण गरिने टेवा पर्खाल, कल्भर्ट तथा पुलहरुमा गुणस्तिरहिन निर्माण सामाग्री प्रयोग भएको देखिएको शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर बि.क (राजु)ले बताए । उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको कामका विषयमा सरोकारवाला निकायले अनुगमनको पाटोलाई व्यवस्थित बनाउनुपर्ने देखिएको छ । निर्माण पक्षले पनि कामको गुणस्तरियतालाई ध्यान दिनुपर्छ ।’

यस्तै, प्रमुख जिल्ला अधिकारी छवि रिजालले निर्माण पक्षलाई कामको गति बढाउन निर्देशन दिएका छन् । उनले राजमार्गमा काम गर्दा यात्रुको सुरक्षालाई समेत ध्यान दिन, गुणस्तरीय काम र सम्झौता अनुसार सडकको धुलो काम नगर्न समयसमयमा पानी हाल्न समेत निर्देशन दिएका छन् ।

सडक सिमा भित्रका रुख कटान गरी डिभिजन वन कार्यलाई बुझाउनु पर्नेमा निर्माणपक्षले हालसम्म बुझाएको छैन । निर्माण पक्षले सव-डिभिजनका प्रमुखहरुले रुख लिन नमानेको बताउँदै आएका छन् । यता डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने काठ बुझिलिनु भनि कुनैपनि पत्र प्राप्त नभएको बताए । उनले भने, ‘हामीले पटकपटक काठ बुझाइदिनुस भन्दै निर्माणपक्षलाई र स्थानीय प्रशाशनलाई पत्रचार गर्दापनि निर्माण पक्षले काठ बुझाउने कुनै प्रक्रिया अगाडि बढाएको छैन । अब बर्षायाम सुरु हुँदै छ जतिसक्दो चाडो घाटगदि्द गरी राखिएका काठहरु बुझाइदिएमा त्यसको उपयोगिता बढ्थ्यो ।’

यस्तै, कास्की खण्डको सेती नदीमाथी बन्ने सिग्नेचर ब्रिजको काम पनि सुरु गरिएको पश्चिम खण्डका प्रमुख अमित श्रेष्ठले बताए । उनका अनुसार एमएस रसुवा कन्स्ट्रक्सन कम्पनीसंग करिव एक अरव ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँमा ठेक्का सम्झौता भएको छ । २०७९ साउन २६ गते सम्झौता भएको उक्त पुल निर्माण कार्य २०८२ भदौ २२ गते सम्म सम्पन्न गर्नुपर्नेछ । उनले भने, ‘करिव १७४ दिनमा पुल निर्माणको भौतिक प्रगति १५ प्रतिशत भएको छ भने वित्तिय प्रगति २ प्रतिशत छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker