व्यास नगरपालिकाको गौरवको आयोजना : नारेश्वरतालमा पानी भर्ने तयारी
दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि बढाएको नारेश्वरताल क्षेत्रको माटो फाली पानी भर्ने तयारी गरिएको छ । नगरपालिकाले वडा नं. १० दुम्सीचौरमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन तथा सिंचाईको व्यवस्थापन गर्ने उद्देश्यले नारेश्वरताल निर्माण कार्य अगाडि बढाएको हो ।
सिँचाइ डिभिजन कार्यालय मार्फत निर्माण कार्य अगाडि बढाइएको नारेश्वरतालको बाँध र सिँचाइ ट्याङ्की अन्तिम चरणमा पु¥याइएको छ । लामो समयदेखि रोकिएको बाँध निर्माण यसवर्ष पूर्णता पाएसँगै तालमा माटो फाली पानी भर्ने काम सुरु गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, ‘नगरपालिकाद्वारा कार्यान्वयन गरिएको यो बहुउद्देश्यीय परियोजना २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तालमा जम्मा भएको माटो निकाल्ने, पानी जम्मा गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माण अगाडि बढाइने छ ।’
तालसँगै यहाँबाट पानी तानेर जम्मा गर्ने ट्याङ्की पनि निर्माण गरिएको छ । स्थानीय कृषकलाई आवश्यक सिँचाइका लागि पानी वितरण गरिनेछ । योसँगै स्थानीय कृषि उत्पादन वृद्धि हुने, पर्यटन विकासमा योगदान पुग्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए ।
व्यास नगरपालिकाको आयोजना र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण भइरहेको यस परियोजना पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ । नगरप्रमुख न्यौपानले भने, ‘व्यास नगरपालिका यस परियोजनामार्फत कृषि, पर्यटन, रोजगारी र वातावरण संरक्षणमा समान रूपले योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको छ ।’
नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको एक करोड ३७ लाख ८६ हजार ५०० रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख न्यौपानेका अनुसार जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रतिरोपनी पाँच लाख ५० हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिएको छ भने दोयमलाई प्रतिरोपनी पाँच लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिएको छ भने २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने योजना रहेको छ ।
ताल निर्माणका लागि एक करोड ८४ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिएको छ । विसं २०७५ पुस २० गते गण्डकी प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुआत गरेपनि काम अगाडि बढ्न सकेको थिएन ।
तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले बताए। तालको औसत गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटरको रहनेछ भने कंक्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ ६.८५ (जगमा) देखि १.५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजारदेखि ३० हजार घनमिटरको रहने उनले बताए ।
उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ कार्ययोजना बनाइ निर्माण कार्य भएको उनले बताए । वडा अध्यक्ष पोख्रेलले भने, ‘ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारीको वातावरण सृजना हुनुका साथै तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।’










