कोरोना परीक्षणको शुल्क लिएका जीपीका ४ कर्मचारी निलम्बित
भञ्ज्याङ समाचारदाता/दमौली

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको अस्पताल प्रशासनले चार जना कर्मचारीलाई निलम्बन गर्दै २४ घण्टा भित्र स्पष्टिकरण सोधेको छ । कोरोना परीक्षणका लागि आएका सेवाग्राहीसंग पैसा लिएको खुलेपछि अस्पताल प्रशासनले कर्मचारीलाई निलम्बन गरेको हो । केन्द्रमा आउने सेवाग्राही तथा सर्वसाधारणबाट केन्द्रका कर्मचारीले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने र रिपोर्ट चाँडै निकालिदिने भन्दै अनुमतिबिना नै पैसा लिने गरेको खुलेको छ ।
केन्द्रले कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका सेवाग्राहीको स्वाब संकलन गरी निशुल्क पीसिआर परीक्षण गर्दै आएको थियो । केन्द्रका केही कर्मचारीले सेवाग्राहीसंग छिटो पीसिआरको रिपोर्ट ल्याइदिने भन्दै रकम लिएको भन्ने गुनासो बढ्न थालेपछि केन्द्रले उक्त बिषयलाई लिएर अनुसन्धन थालेको थियो । यस विषयमा केन्द्रको अस्पताल प्रशासनले छानबिन गर्दा ४ जना कर्मचारी उक्त कार्यमा संलग्न भएको पाएपछि निलम्बन गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।
केन्द्रको अस्पताल प्रशासनले सोमबार एक विज्ञाप्ति जारी गर्दै केन्द्रका कार्मचारीहरु सुधन पन्त, आनन्दप्रसाद ढुंगाना, विधान तिमिल्सिना र मदन श्रेष्ठलाई निलम्बन गरिएको जानकारी गराएको छ । विज्ञाप्तिमा भनिएको छ, ‘यस केन्द्रका ४ जना कर्मचारीको प्रत्यक्ष संलग्नतामा सेवाग्राहीसंग रमक असुलेको पाइएकाले प्रशासनबाट आवश्यक छानविन तथा कारवाही अघि बढाइएको छ ।’
विज्ञाप्तिमा निलम्बनमा परेका कर्मचारीहरुलाई पुनः २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको र उक्त कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म जेठ १७ गतेबाट लागु हुने गरी उनीहरुलाई निलम्वन गरिएको भनिएको छ । केन्द्रमा पुग्ने संक्रमित तथा संक्रमितका आफन्तलाई अस्पतालकै कर्मचारीले विभिन्न बहानामा ठग्ने गरेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । उनले भने, ‘अस्पतालका कर्मचारीहरुले अस्पताल हाताभित्रै अवैध रुपमा पीसिआर परीक्षण गरेको रिपोर्ट एकै दिनमा उपलब्ध गराइदिने भन्दै ५ जना सेवाग्रहीसंग प्रतिव्यक्ति ३/३ हजार रुपैयाँ असुलेको पाइएपछि यस विषयमा छानविन गर्दा उनीहरुको संलग्नता रहेको पुष्टि भएको हो ।’
यस विषम् समयमा पनि नागरिकलाई ठगि गर्ने तथा अनुमतिविना स्वाब संकलन गरी पीसिआर परीक्षण गरिदिन्छु भन्दै रकम उठाउनेलाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । उनले भने, ‘अन्य नीजि अस्पतालहरुमा पनि अनुगमनलाई तिर्व परेका छौ । दोषी भेटिएमा तुरुन्तै कारवाही गर्र्छौ ।’
यस्तै, तनहुँका केही नीजि स्वास्थ्य संस्थाहरुले अनुमतिविना सेवाग्राहीहरुसंग चर्को मुल्य असुलेर कोरोनाको पीसिआर परीक्षण गर्ने गरेको गुनासो बढ्न थालेको छ । स्थानीय पालिकाहरुले निःशुल्क रुपमा कोरोना परीक्षण गराउदै आएपनि हप्ता दश दिनसम्म रिपोर्ट नआउँदा सर्वसाधारणहरु नीजि अस्पतालहरुलाई चर्को शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका छन् । कतिपय र्सवसाधारणहरुले आफु संक्रमित भएको समुदायका अन्य व्यक्तिलाई जानकारी नहोस् भन्ने उद्देश्यले नीजि अस्पतालमा चर्को शुल्क तिरेर पीसीआर परीक्षण गर्ने गरेको पनि पाइएको छ ।










