मैले मेरा गुरुलाई सोध्न नसकेका प्रश्न
डा. प्रशान्त ध्वज अधिकारी

साइन्समा संसारको सबभन्दा नयाँ प्रबिधि भनेको न्यानोटेक्नोलोजी हो । आर्टीफेक्ट न्यानोटेक्नोलोजी अनुसन्धान क्षेत्रको प्रचलित शब्द हो । हुन् न त, यो शब्द अरु बिषयमा पनि प्रयोग गरिन्छ । तर, यस क्षेत्रमा आर्टीफेक्ट भन्नाले जुन हुनु पर्ने हो, त्यो नहुनु हो । जस्तो, मानौ कि, कोरोना टेस्ट गर्दा पी.सी.आर मेसिनले कोरोना नभएको मान्छेको पनि कोरोनाको जस्तै ब्याण्ड स्पेक्ट्रम देखाएर कोरोना लागेको भनिदिनु । यो हुनुको दुइ कारण हुन् सक्छन, एक मेसिनको त्रुटी, अर्को मानवीय त्रुटी वा नियत, जस्ले समग्र सिस्टमलाई भ्रम पारिदिन सक्छ ।
तसर्थ, हाईटेक अनुसन्धानमा यसको मात्र सुन्यमा राख्ने कल्पना गरिएको हुन्छ । न्यानोटेक्नोलोजी अनुसन्धान क्षेत्रमा काम गरिराखेको म, कहिलेकाँही यस फेक्टरलाई हाम्रो देशसँग तुलाना गरेर हेर्छु । कहिले यही आर्टीफेक्ट शब्दलाई टेक्नोलोजीको क्षेत्रबाट हामीहरुको सामाजिक क्षेत्रसंग पनि जोडेर हेर्ने प्रयास गर्ने गर्छु । देशसंग जोडेर हेर्दा, मेरै कालमा दुइवटा संबिधान देख्न पाइयो । पहिलो संबिधानबाट जे कल्पना गरिएको थियो, त्यो भएन र नै गयो होला । दोस्रो प्रयोगको चरणमा छ । तर बिश्वका केही मुलुकले सय वर्ष अघिदेखिका संबिधानबाट काम चलाईरहेका छन । तर हामीकोमा छिटो-छिटो परिबर्तन भैराखेको छ । यो हुनुमा आर्टीफेक्ट फेक्टरले यहाँ भूमिका खेल्छ, जे आश गरिएको हुन्छ, त्यो हुँदैन । अनि, देशलाई फेरी पछि धकेल्छ ।
अब सामाजिक क्षेत्रसंग आर्टीफेक्टलाई जोड्ने कोसिस गर्छु । हामीकोमा जस्ले पाउनु पर्ने हो वा दिनु पर्ने हो उसलाई दिइदैन । जो हकदार थियो, उस्ले पाउँदैन । सहि ब्यक्ति सहि ठाँऊ, यो कुनै पनि हुनै पाउदैन। यसले समाजमा निराशा र आक्रोश उत्पन्न गर्राईदिन्छ । सिस्टमले ठाउँ छोडेपछि, कति ब्यक्ति निराशा र आक्रोश बोकि विदेश जान बाध्य हुन्छन । समाज बिकासको लागि चाहिने योग्य र इमान्दार व्यक्तिहरु अब केहीमा सिमित रहन्छन । उनीहरु राज्यबाट हुने गतिविधिबाट टाढा हुन् चाहन्छन । किनकी, उनिहरुको राज्यसँग विश्वास र भरोसा टुटिसकेको हुन्छ । बाँकी रहेका केही अन्यको मैले यहाँ उल्लेख गर्न चाहिन । यहाँ पनि आर्टीफेक्ट फेक्टरले काम गर्छ र समाजलाई अघि लग्न धक्का दिन्छ ।
अनुसन्धानको क्षेत्रमा शून्यमा कल्पना गरिएको आर्टीफेक्ट फेक्टर, समाजमा भाईरस जसरी फैलिए, समग्र सिस्टमलाई ध्वस्त पार्न सक्छ । तसर्थ, आर्टीफेक्ट कुनै पनि क्षेत्रमा यसको बिस्तार हुनु भनेको सभ्य समाजलाई अघि बढाउँन चुनौति थपिनु हो । सामाजिक क्षेत्रबाट यसलाई हेर्दा राज्य शक्तिमा पहुच भयका मान्छेको नियतसँग दाँज्ने गरिन्छ, भने मेडिकल वा अन्य अनुसन्धान क्षेत्रमा हाईटेक मेसिनको गुणस्तरसँग दाँज्ने गरिन्छ । हाम्रो देशमा आर्टीफेक्टको मूल स्रोत के हो त – यसको उत्तर लिन मैले मेरो पालाका स्थानीय स्कुलका गुरु आदरणीय नरनाथ खनाल सरसँग मैले सोध्न नसकेका प्रश्न, यहाँ राख्न चाहन्छु, किनकी त्यो बेलामा म धरै नै सानो थिए ।
गुरुले नैतिक विषयको आमा-बुबालाई सेवा गर्नुपर्छ भन्ने भाब अन्तर्गत गणेश र कुमारको पाठ पढाएको याद म जब-जब नेपालमा रहन्छु, खुब सम्झन्छु । अब, मूल आसय तिर जान्छु, आफ्ना दुइ पुत्र गणेश र कुमारलाई आमा-बुबाले एक काम दिन्छन र भन्छन। जो कैलाश पर्बत परिक्रमा गरी हामीकोमा पहिला आउछ, हामीबाट दिने सुबिधा उसैलाई दिईने छ । यो सुनेपछि कुमार आपनो काम तिर लागे । तर, गणेश अनेक बहाना गर्दै आमा-बुबाको वरीपरी घुम्न थाले ।
यो देखेर बाबु-आमाले गणेशलाई सोध्छन, तिमी काममा किन नगएको – चलाख गणेशले भने रे, सातवटा कैलाश पर्बत बराबर मेरा बाबु-आमा बसेको ठाउँ नै हो, त्यही कारणले म यही परिक्रमा गरीराखेको। यो सुनेर बाबु-आमा प्रफुल्ल भय रे ! जस्ले गर्दा आफुलाई दिईएको आदेश पुरा गरी कामबाट फर्केको कुमारलाई हैन, गणेशलाई बाबु-आमाबाट पुरस्कृत गरेको किम्वदन्ति छ भनेर गुरुले सुनाउनु हुन्थ्यो । यसलाई आजकाल गणेश प्रबृति भन्ने गरिन्छ । म अहिले भए गुरुलाई सोध्थे, दिनुपर्ने कुमारलाई हैन र ? मेरो गुरु न्याय गर्ने स्वभाबको ब्यक्ति भएकोले सायद उहाँले पनि कुमार नै भन्नुहुन्थ्यो होला । अचेल ति कथा पर्ढाईन्छ भने, अबदेखि कुमारलाई नै पुरस्कृत गर्ने गरिए राम्रो हुन्थ्योकी ? कहिले काही सहि नियतबाट पर्ढाईएका पाठबाट पनि आधुनिक समाजमा नकरात्मक असर पर्न सक्छ।
गणेश प्रवृतिमा मान्छे परिश्रम गर्न भन्दा शक्ति केन्द्रमा चाकरी-चाप्लुसीमा केन्द्रित रहन्छ । आफ्नो फाईदाको लागि ऊ त्यहाँ जे गर्न पनि समर्पित हुन्छ। आज नेपालमा आर्टीफेक्टको बिस्तार भयर जानु नै यही गणेश प्रबृति हो । तर, राणाकालमा गणेश प्रबृतिमा मात्र सिमित भयको यो प्रबृति, आजको दिनसम्म आइपुग्दा कुबेर प्रबृति र अब डन प्रबृतिसम्म विकास हुने बाटोमा छ । जसले, आर्टीफेक्टको ग्राफ झन् उकालो लाग्दो छ । गणेश प्रबृतिका ब्यक्ति राख्नु पर्ने अबस्था आएपछि, अरु योग्यलाई यो, त्यो, यस्तो, उस्तोको, इत्यादिको ट्याग झुन्डाइदियो र फ्याकिदियो । विकासित र सभ्य समाजमा यस्ता ट्याग लगाएर योग्य व्यक्तिलाई पन्छाउनुलाई अपराध मानिन्छ । त्यही कारणले ति राष्ट्रहरु बिकासमा हामी भन्दा क्यौ गुणा अघि छन । नेपालमा गणेश र अन्य प्रबृतिबाट योग्यलाई पछि पारिएको क्षेत्र कुनै पनि बाँकी छैन जस्तो लाग्छ । राजनीतिकै कुरा गर्ने हो भने पनि पार्टीमा आबद्ध इमान्दार, योग्य र समाजमा योगदान दिन सक्ने व्यक्तिले टिकट पाउन नै मुस्किल छ । टाउकोमा पानी हाले विस्तारै खुट्टासम्म पुग्छ, तर भिज्ने बढी टाउको नै हो ।
तसर्थ, आर्टीफेक्टको ग्राफ ओरालो बनाउदै लग्न राज्यको कार्यकारी भूमिकामा बस्नेदेखि अरु राज्यको महत्वपूर्ण पदमा आसिन ब्यक्तिहरुको भूमिका महत्वपूर्ण हुन् जान्छ । उहाँहरुले चाहे यो सम्भब भित्रको कुरा हो । तर, हामीकोमा राज्यको महत्वपूर्ण संस्थाको प्रमुख भएर रिटायर्ड हुन्छ्न, अनि भन्छन, यो वा त्यो कारणले म अन्यायमा परे । माथि उल्लेखित प्रवृतिबाट उच्च तहमा पुग्छन, अनि फेरी भन्छन, देश बिग्र्यो । त्यसो भए राज्य संग विश्वास र भरोसा टुटेका आम मानिसले न्याय पाएका छन् त ? के देश बिगारेका यिनीहरुले हो त ? आजकाल त्यही भयर होला, राज्यका महत्वपूर्ण ओझ भएका पदहरुको प्रतिष्ठा घट्दो छ । हिजो समाजले राज्यको अन्य निकायमा रहेका व्यक्तिलाई प्रोयोग गर्ने ट्याग आज न्यायलयसम्म आईपुगेको छ, र सजिलै न्यायधिसलाई पनि उक्त ट्याग झुण्र्डाईदिन्छ । जुन पछि गयर कानुनी राज स्थापनाको लागि ठुलो चुनौति बन्न सक्छ ।
आज देशको उधोगतिले गर्दा बिदेशमा रहेका नेपाली कुनै न कुनै अपमानको शिकार हुनु परेको छ। तर्सथ, ति नेपालीहरुको प्रतिक्रियामा अचेल आक्रोश मात्रै हैन, पीडा पनि लुकेको छ। विदेशतिर नागरिकता लियर वि आर…. भन्दै बसेकेका कुरा छाडौ। देशको हालतले बिदेशिने नेपाली अब फर्कादा सीप, पीडा र आक्रोस सबै लिएर र्फकने छन । स्वदेसमा रहेका योग्य तर माथि उल्लेखित प्रबृतिबाट पछाडी पारिएका आक्रोसित समुदाय यहाँ पहिलेदेखि नै ठुलो जमात छ। ति दुबैको एकत्रित आक्रोश बिस्फोट भए को कहाँ पुग्छ, व्यवस्था कहाँ पुग्ने हो ? थाहा छैन ।
तर, हामी अब व्यवस्था परिबर्तन भन्दा पनि अबस्था परिबर्तनको कल्पना गरौ, सच्चिनु पर्ने ठाउँमा सच्चिउ, हैन भने देश फेरिपनि पछि धकेलिन सक्छ । मुलत, देशका प्रमुख पार्टीहरु अब जिम्बेवार हुनु आबश्यक छ । अब आउने चुनाबमा जुन पार्टीले यिनीहरुको विश्वास जित्न सक्छ, सरकारमा त्यो पार्टी पनि पुग्ने निश्चित जस्तै छ । तर्सथ, राज्यको पहुँचबाट बिकास भएको ति प्रबृतिबाट निस्केको आर्टीफेक्टलाई शून्यमा झार्ने कोसिस आजैबाट शुरु गरौ। किनकी, नेपाल पछि पर्नुको मूल कारण नै यहाँ उल्लेखित प्रबृति हो । अन्त्यमा, यहाँहरुलाई नै छोडे, अब पनि गणेश रोज्ने कि ? वा कुमार ?










