बाढीपहिराले व्यास-१ को भादगाउँ खानेपानीका चार मुहान पुर्‍यो, २ हजार घरधुरी प्रभावित

भञ्ज्याङ न्यूज

अविरल वर्षाले तनहुँको व्यासनगरपालिका-१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार खानेपानीका मुहान पुरेपछि खानेपानीको समस्या भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरो गएर पानीको मुहान तथा पाइप बगाउँदा व्यास-१ र १२ का गरी दुइ हजार ५०० उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

धारामा पानी नआएपछि दुइ दिनदेखि बोरिङ र खोला छेउमा रहेको कुवाको पानी ल्याएर स्थानीय जीविकोपार्जन गर्न बाध्य भएका छन् । वर्षापछि खानेपानीको सबै मुहान अवरुद्ध भएपछि छाब्दीखोला किनारमा रहेको कुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको निर्मलनगर टोल विकास संस्थाका पूर्वअध्यक्ष अम्मर भण्डारीले जानकारी दिनुभयो।

उक्त खानेपानीको कार्यालयदेखि करीब १३ किलोमिटर लामो दूरीमा पर्ने खिरखाँदी मुहानबाट ल्याइएको खानेपानी सोही वडाको बेलबासमा ४५ मिटर जिआई पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेको छ।

व्यास-१ र १३ जोड्ने छाब्दी खोला दोभानको पक्की मोटरेबल पुल बगाएपछि तत्काल मर्मतसम्भार गर्न कठिनाइ भएको समितिका व्यवस्थापक इश्वर श्रेष्ठले जानकारी दिनुभयो । छाब्दी खोलामा आएको बाढीले पुल बगाएकाले सामान लिएर जान नसकिने हुँदा पुल बनेपछि मात्रै मर्मतसम्भार गर्न सकिने उहाँले बताउनुभयो ।

त्यसैगरी छाब्दी खोलाको मुहानबाट ल्याइएको पानीको पाइप बगाएर करीब ९०० मिटर तल पुर्‍याएको सो समितिले जनाएको छ। उक्त मुहानको पानी प्रतिसेकेन्ड तीन लिटर क्षमता रहेको छ। त्यसैगरी छाब्दी खोला किनारस्थित दुइ स्थानबाट पानी पम्पिङ गरिए पनि बाढीले विद्युत्को पोल ढलेका कारण पानी तान्न नसकिएको सो संस्थाले जनाएको छ ।

उक्त दुइ पम्पिङ योजनाबाट प्रतिसेकेन्ड आठ लिटर पानी क्षमता रहेको छ। भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चारवटै मुहानबाट गरी प्रतिसेकेन्ड कूल २० लिटर पानी संकलन गरी उपभोक्ताहरूलाई वितरण गर्दै आएकामा अहिले बन्द भएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो ।

विद्युत् लाइन अवरुद्ध हुँदा मोटर चलाउन नसक्दा पानी पम्पिङ गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “खानेपानीका सबै मुहान बाढीपहिराले पूर्ण रूपमा क्षति हुँदा जनजीवन प्रभावित भएको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker