भानुभक्त आचार्यको प्रेरणा स्थलका रुपमा परिचित घाँसीकुवा पार्कको पुनःनिर्माण गरिदै

दमौली : तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित घाँसीकुवा र पार्कको पुनःनिर्माण गरिने भएको छ । आदिकवि भानुभक्त आचार्यले रामाणलाई नुपाली भाषामा अनुवाद गर्ने प्रेरणा पाएको स्थलको रुपमा लिइएको घाँसीकुवा र यहाँको पार्क पृथ्वीराजमार्ग विस्तारसंगै नासिने जोखिममा पुगेको छ ।

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।

माथिको कविता आदिकवि भानुभक्त आचार्यले ससुराली मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाएर रचना रचन गरेको बताइन्छ ।

न्यून आयस्तर भएको घाँसीको प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गरेको बताइन्छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा विस्तारको क्रममा भत्किएको पुरातात्विक महत्व बोकेको घाँसीकुवा र भानु–घाँसी स्मारक पार्कको पुनःनिर्माण कार्य अगाडि बढाइएको छ ।

भानु–घाँसी स्मृति पार्क संरक्षण समितिको अगुवाइमा पार्कको समग्र पुनःनिर्माण र सौन्दर्य बढाउने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । घाँसीकुवालाई पुनः सुन्दर र व्यवस्थित बनाउन तीन करोड ५३ लाख रुपैयाँको लागत लाग्ने गरी डीपीआर तयार भई काम अगाडि बढाइएको भानु–घाँसी स्मृति पार्क संरक्षण समितिका अध्यक्ष अमृत पन्थले बताए ।

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले पार्कको पुनःनिर्माण गर्न प्रतिबद्धता जनाएको पन्थले जानकारी दिए । डीपीआर अनुसार पार्कमा बाटो, बगैँचा, शौचालय, बस्ने स्थान, पर्खाल, साइनबोर्ड, मञ्च, मूर्ति स्थल, पार्किङ लगायत संरचनात्मक विकासका कार्यहरू समावेश गरिएको छ। पन्थले भने, ‘पुनर्निर्माणपछि भानु र घाँसीको स्मृतिलाई उजागर गर्दै सिङ्गो तनहुँको पर्यटन र सांस्कृतिक गन्तव्यको रूपमा समेत यस स्थललाई उचाइ दिने विश्वास गरेका छौं ।’

यस स्थल तनहुँको गौरव मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको शान भएकाले ऐतिहासिक स्थलको संरक्षणमा स्थानीय, प्रदेश सरकार, संघीय सरकार, पर्यटन विभाग, नेपाली साहित्यका अभियन्ता तथा आम जनसमुदाय सबैको गम्भीर ध्यान जानु आवश्यक रहेको पन्थले बताए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेकाले घाँसीकुवाको संरक्षण तथा प्रवर्द्धनका लागि नगरपालिकाले ध्यान दिएको बताए ।

उनले भने, ‘हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्यलाई स्थापित गर्न लागिएको छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएको छ ।’ सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा रहेको घाँसीकुवा सडक विस्तारसंगै अस्तित्व संरक्षणको पर्खाइमा बसेको छ ।

घाँसीकुवा पारिपट्टी पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती कुवाको नजिक भएकाले पन्थ नै घाँसी भएको अनुमान गरिएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराई बताउँछन् । उनले भने, ‘गुरुयोजना प्राप्त भइसकेकाले पुनःनिर्माणको कार्य चाँडै नै थाल्ने तयारी भईरहेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker