‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने
रेष्टुरेण्ट एण्ड बार एसोशियसन ९रेवान० पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ । पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित तीन दिनमात्र तामझामविना स्वास्थ्य सतर्कता अवलम्बन गरी महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।
“हामीले पर्यटन सम्बद्ध सङ्घसंस्थासँग व्यापक छलफल ग¥र्यौं, सबै संस्था तयार हुनुभयो । प्रशासनबाट पनि अनुमति पायौँ। महामारी जारी रहेकाले स्वास्थ्य सतर्कतासहित तामझामविना मनाउन लागिएको हो”, बरालले भन्नुभयो ।
कार्यक्रमका संयोजक वसन्त गौतमले कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पर्यटन ठप्प छ, अघिल्ला महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गरेकामा अहिले आन्तरिक पर्यटकमाझ केही सीमित कार्यक्रम गरेर मनाउन लागेका छौँ ।” उहाँले पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचनासहित अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा तीन वटा कक्षमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका वेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरेर महोत्सव मनाइनेछ । कार्यक्रमका सहसंयोजक एवं स्वास्थ्य संयोजक भीष्मराज पौडेलले प्रवेशद्वारबाट स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइने जानकारी दिनुुभयो । महोत्सवस्थलमा स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई पनि जोड दिइनेछ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पोखराका विभिन्न सङ्घसंस्था आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानमा जुटेको उल्लेख गर्दै अब पोखराको पर्यटन उकास्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखराका धार्मिक तथा पर्यटकीय गतिविधि केही दिनभित्रै खुल्ने पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यस क्षेत्रमा बन्द रहेका पर्यटकीय र धार्मिकस्थल खुला गर्न सङ्घीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छाँै, उहाँहरुले लिखित निर्णय नआए पनि मौखिक अनुमति दिनुभएको छ । अब विस्तारै आसपासका पर्यटकीय गन्तव्य खुल्नेछन् ।” उहाँले सरोकारवालासँग पनि छलफल भएकाले अब बाराही मन्दिर, स्तूप, डेभिजफल्सलगायतका गन्तव्य खुला हुने बताउनुभयो ।
भट्टराईले व्यवसायीका लागि ल्याएको पुनर्कर्जा कोषलाई कार्यान्वयन गर्न नसक्दा व्यवसायी थप पीडित भएको जनाउँदै सरकारलाई ध्यानाकर्षण गराइएको बताउनुभयो । पत्रकार सम्मेलनमा पश्चिमाञ्चल होटल सङ्घ हानले महोत्सवमा आउने पाहुनालाई लक्ष गरी ५० प्रतिशत छुटको व्यवस्था गरेको हानका उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । संस्थाका महासचिव विकास भट्टराईले महोत्सव सफल गर्न विभिन्न समिति र उपसमिति गठन गरिएको जानकारी दिनुभयो । रासस










