प्याकेजिङसहितको ब्रान्डिङले बढायो स्थानीय कृषि उत्पादनको बजार

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारीबन्दै, मूल्य अभिवृद्धिसँगै किसानका उत्पादनले पाउनथाले नयाँ पहिचान

तनहुँ : तनहुँमा उत्पादन हुने कृषि उपजले पछिल्ला वर्षहरूमा बजारमा नयाँ पहिचान बनाउन थालेका छन् । परम्परागत रूपमा खुला रूपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ब्रान्ड, आकर्षक लेबल र गुणस्तरीय प्याकेजिङसहित उपभोक्तामाझ पुग्न थालेका हुन् ।
कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेको कृषि उद्यम विकास कार्यक्रमले जिल्लाका कृषि उद्यमी, समूह र सहकारीमार्फत उत्पादन हुने कृषि उपजको मूल्य अभिवृद्धि तथा बजारीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको वरिष्ठ कृषि विकास अधिकृत परशुकराम अधिकारीले जानकारी गराए । कार्यक्रमअन्तर्गत किसानलाई उत्पादनको ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ र बजार प्रवर्द्धनमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइएको उनले बताए ।
यस कार्यक्रमबाट बेसार, अदुवा, मह, सातु, तोरीको तेल, मकै, फापर, कोदो, गहुँ तथा चामलको पिठो, प्रशोधित चामल, मकैजन्य परिकार तथा विभिन्न दलहन र गेडागुडीजस्ता उत्पादन बजारमा आकर्षक रूपमा प्रस्तुत हुन थालेको कार्यालयले जनाएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत अधिकारीका अनुसार उत्पादनको गुणस्तरप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै किसानले उत्पादनको तुलनात्मक रूपमा राम्रो मूल्य पाउने वातावरणसमेत बनेको छ ।
कृषि क्षेत्रमा उत्पादन बढाउनेभन्दा पनि त्यसको मूल्य अभिवृद्धि गरी बजारसम्म पु¥याउने चुनौती रहँदै आएको अवस्थामा यो कार्यक्रम प्रभावकारी देखिएको कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले बताए । उनले भने, ‘स्थानीय उत्पादनलाई ब्रान्डसहित बिक्री गर्न थालेपछि बजार विस्तार हुनुका साथै कृषि उद्यमीमा व्यवसायप्रति आत्मविश्वाससमेत बढेको छ ।’
‘स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ अपरिहार्य बन्दै गएको छ’, अधिकृत परियारले भने, ‘यस कार्यक्रमले किसानको उत्पादनलाई पहिचान दिलाउनुका साथै बजारसँग जोड्ने प्रभावकारी आधार तयार गरेको छ ।’
यद्यपि कार्यक्रममा किसानको सहभागिता अपेक्षाअनुसार व्यापक हुन सकेको छैन । अधिकांश किसान अझै परम्परागत ढंगबाट उत्पादन बिक्री गरिरहेका कारण कार्यक्रमको दायरा सीमित रहेको कार्यालयको विश्लेषण छ । तर सीमित सहभागिताका बाबजुद कार्यक्रमले स्थानीय उत्पादनको व्यावसायीकरण, मूल्य अभिवृद्धि र बजारीकरणमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।
किसानको आम्दानी वृद्धि गर्न उत्पादन बढाउनु मात्र पर्याप्त नभई उत्पादनलाई प्रशोधन, ब्रान्डिङ र गुणस्तरीय प्याकेजिङ गरी बजारको मागअनुसार बिक्री गर्न सके मात्रै कृषि व्यवसाय दिगो बन्न सक्ने भएकाले कार्यालयले यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
कृषि विकास कार्यालयले आगामी आर्थिक वर्षमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै बढीभन्दा बढी किसान, कृषि उद्यमी र सहकारीलाई समेट्ने तयारी गरेको जनाएको छ । स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा स्थापित गर्न ब्रान्डिङ र मूल्य अभिवृद्धिमा केन्द्रित कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
तनहुँको घिरिङ गाउँपालिकाको सुन्धारा महिला समुह र भिमाद नगरपालकाको सिद्ध बहुउद्देश्य सहकारी संस्थामा आवद्ध कृषकहरुले बेसारको प्याकेजिङ गर्दै आएका छन् । शुक्लागण्डी नगरपालिकामा शुक्लागण्डकी सातु उद्योगले सातु उत्पादन गरी प्याकेजिङको काम गर्दै आएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने मित्र राइस मिलले चामालको प्याकेजिङ गरी ब्राण्डिङको काम गर्दै आएको छ भने भानु–१ मा तोरीको तेल उत्पादन गरिदै आइएको छ ।
यस्तै, आँवुखैरेनी गाउँपालिकाका विभिन्न कृषक समुहहरुले कोदोको पिठो, मकैको च्याख्ला, दालजन्य बालीहरुलाई प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउन थालेका छन् । यसलाई थप व्यवसायिक र गुणस्तरीय बनाउनका लागि खाद्य डिभिजन कार्यालयसंग समन्वय गरी अनुज्ञपत्र उपलब्ध गराउने कार्यमा कार्यालय लागि परेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker