बन्दिपुरको वडा नं. १ लाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गरिंदै
भञ्ज्याङ न्यूज

तनहुँको बन्दीपुर गाउँपालिकाको वडा नं. १ लाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको हो । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । वडाभित्रका १८० बाख्रापालक कृषकलाई वडा कार्यालयले डालेघाँस किम्बुको बिरुवा वितरण गरेको छ ।
चितवनबाट खरीद गरी ल्याइएका १० हजार घाँसका बिरुवा कृषकलाई वितरण गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाउँपालिका, वडा कार्यालय र कृषकको समेत लागत सहभागितामा बिरुवा वितरण गरिएको उनले बताए ।
गाउँपालिकाले सो वडालाई बाख्रा पकेट विकास कार्यक्रममा छनोट गरेको छ । सोही बमोजिम वडाका ४५ कृषकलाई २० हजाररुपैयाँका दरले खोर सुधार कार्यक्रमका लागि रकम प्रदान गरिएको छ । ‘बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालीम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ’, पोख्रेलले भने, ‘व्यावसायिक रुपमा बाख्रापालनतर्फकृषक आकषिर्त भइरहेका छन् । किम्बुको घाँस बाख्राका लागि पोसिलो हुने र बाख्रा पनि चाँडै बढ्ने हुँदा वितरण गरिएको हो ।’गाउँपालिकाका पशु शाखाका प्राविधिक मधुविलास न्यौपानेले किम्बुको घाँस हुर्काउन सजिलो र बाख्राका लागि उपयुक्त रहेको बताए । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने तथा किसानलाई आर्यआर्जनमा जोड्ने उद्देश्यले बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिएको छ ।
बाख्रापालक कृषक मदन अधिकारीले वडा कार्यालयले दिएको किम्बु घाँसको बिरुवाले बाख्रापालनका लागि सहयोग पुग्ने बताए । एक सयभन्दा बढी बाख्रापालन गर्दै आएका अधिकारीले वडा कार्यालयले कृषक लक्षित कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।
यस्तै, अर्का बाख्रापालक कृषक सविना बानियाँले वडाले उपलब्ध गराएको बिरुवा हुर्काएर धेरैभन्दा धेरै घाँस उत्पादन गर्ने बताइन् । बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षमा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस वडामा एक हजारको संख्यामा बाख्रापालन गरिएको छ ।बाख्रा पकेट कार्यक्रमका लागि गाउँपालिकाले यस वडाका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । उनका अनुसार यसकार्यक्रम मार्फ् घाँसको बीउ, नश्ल सुधार तथा खोर सुधारका कार्यक्रम सञ्चालन हुनेछन् । यही वडामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा भेटेरिनरी अस्पताल निर्माण सम्पन्न भएको छ ।
बन्दीपुर गाउँपालिका-१ नाहालामा ९८ लाख ६१ हजार ४४९ रुपैयाँको लागतमा छ कोठाको भवन निर्माण सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो । उक्त अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् ।