म्याग्दे गाउँपालिकामा एकीकृत घुम्ती शिविरबाट जनताको घरदैलोमै सेवा प्रवाह

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै सेवा प्रवाह गरेको छ । गाउँपालिकाले ‘जनताको घरदैलोमै सेवा’ नारासहित सोमबार वडा नं. १ को बच्र्याङबाट एकीकृत घुम्ती शिविर सुरु गरेको हो ।
शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनतासँग गरिएको प्रतिबद्धता अनुसार हरेक वर्ष एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको बताए । उनले घुम्ती शिविरलाई स्वास्थ्य शिविरमात्रै बुझ्नु भ्रम भएको उल्लेख गर्दै भने, ‘म्याग्देले घरदैलोमा पुगेर एकीकृत सेवा दिने अभ्यास सुरु गरेको तनहुँकै पहिलो पालिका हो ।’

अनुसार चार वर्षयता निरन्तर सञ्चालन हुँदै आएको यो शिविरले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ नजिक बनाएको अध्यक्ष श्रेष्ठले दाबी गरे । उनले भने, ‘जनताको व्यापक सहभागिताले यो कार्यक्रम अझ प्रभावकारी बन्दै गएको छ ।’
कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका नै ‘सिंहदरबार नजिक’ भन्ने अवधारणा अनुसार सेवालाई जनताको घरदैलोमै पु¥याउने लक्ष्यका साथ अघि बढिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा ‘अध्यक्ष–उपाध्यक्षसँग जनता’ शीर्षकअन्तर्गत सातवटै वडामा घुम्ती शिविर सञ्चालन गरिने भएको छ । उनले भने, ‘प्रत्येक वडामा चार स्थान गरी २८ ठाउँमा सेवा पु¥याइनेछ, जसले समय र खर्च दुवै बचत गर्नेछ ।’
शिविर असोज १ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमअनुसार भदौ १६–१७ गते वडा नं. १, भदौ १८–१९ मा वडा नं. २, भदौ २२–२३ मा वडा नं. ३, भदौ २४–२५ मा वडा नं. ४, भदौ २६–२७ मा वडा नं. ५, भदौ २९–३० मा वडा नं. ६ र भदौ ३१ तथा असोज १ मा वडा नं. ७ मा हुने जनाइएको छ ।

घुम्ती शिविरमा घटना दर्ता, राजस्व संकलन, विभिन्न सिफारिस, स्वास्थ्य तथा आयुर्वेद सेवा, पशु तथा कृषि सेवा, व्यवसाय दर्ता तथा नवीकरण, महिला–बालबालिका सम्बन्धी परिचयपत्र वितरणलगायत सेवा उपलब्ध हुनेछन् । साथै अन्य शाखाबाट तथ्याङ्क संकलनसमेत हुने गाउँपालिकाले जनाएको छ ।











