स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन
- रासस (गण्डकी)
कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न थालेका छन् । विद्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गरेको कास्कीको अन्नपूर्ण गाउँपालिका-६ लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय खोल्ने निर्देशनअनुरुप विद्यार्थीलाई भौतिकरूपमा नै विद्यालयमा उपस्थित गराइ पठनपाठन शुरु गरिएको उहाँले बताउनुभयो । कोरोनाका कारण लामो समयदेखि बालबच्चा घरमा नै रहँदा उनीहरूको पठनपाठनप्रति अभिभावकले चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै सुवेदीले बच्चालाई विद्यालय पठाउन थाले पनि उनीहरूको स्वास्थ्य सुरक्षाप्रति भने सबै सजग बनिरहेको बताउनुभयो ।
“कक्षा ५ देखि माथिका विद्यार्थी प्रायः सबैजसो स्वास्थ्य सुरक्षाप्रति गम्भीर बन्दै माक्स, स्यानिटाइजर आदिको प्रयोग गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “तल्लो कक्षाका विद्यार्थीका लागि स्वास्थ्य मापदण्डको पालना, माक्स, स्यानिटाइजरको अनिवार्य प्रयोग गराउँदै पठनपाठन गर्न चुनौतीपूर्ण नै छ ।” बाल्यावस्थाका कारण आफ्ना कापी, कलमसमेत खरिद गर्न नसक्ने उनीहरूका लागि माक्स, स्यानिटाइजर आदिको नियमित प्रयोग गराउनु चुनौती रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाभित्रका सरकारी तथा निजी सबै विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन शुरु गरिएको महानगर पालिकाका शिक्षा महाशाखाप्रमुख हेमप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाभित्र २०५ सरकारी र १७३ निजी विद्यालय सञ्चालनमा छन् । महानगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा-२०७७ जारी गरेको छ ।










