छुट्टाछुट्टै दुर्घटनामा तनहुँमा तीन जनाको मृत्यु

दमौली : तनहुँमा भएका तीन अलग–अलग दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा २८ वर्षीय विजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

रुपन्देही बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी–२ बसपार्क बस्दै आएका तामाङ सवार ग२३प २२११ नम्बरको मोटरसाइकल राति करिब ११ः४५ बजे अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय बिप्लव गुरुङ गम्भीर घाइते भएका छन्। गोरखा शहीदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी–३ बस्ने गुरुङको बायाँ आँखामाथि र शरीरमा भित्री चोट लागेका कारण उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङका ७३ वर्षीय पूर्व प्रहरी हवल्दार खुदबहादुर आलेको भिरबाट लडेर मृत्यु भएको छ। शुक्रबार साँझ करिब ५ः३० बजे आफन्तको विवाह समारोहबाट घर फर्किँदै गर्दा उनी करिब १५० मिटर तल खसेका थिए । गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा उपचारको क्रममा राति १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

शनिबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बिमलनगरमा बस र स्कुटर ठोक्किँदा २८ वर्षीय पुनराम गुरुङको मृत्यु भएको हो । ग१ख ९७०८ नम्बरको बस र ग२६प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

गुरुङ गोरखाको धार्चे गाउँपालिका–७ का बासिन्दा हुन्। गम्भीर घाइते अवस्थामा चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। स्कुटरमा सवार मनोज गुरुङ घाइते छन्। उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै, शनिबार साँझ म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा स्कुटर दुर्घटना हुँदा सविन केसी घाइते भएका छन्। म.प्र. ०३–०३८ प ३६१२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुश्मा नगरपालिका–१३ घर भई हाल पोखरा–५ बस्ने केसीको हात र कम्मरमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker