नवौं राष्ट्रिय खेलकुद : तनहुँमा झाँकी प्रदर्शन सहित उद्घाटन, मधेस प्रदेश र आर्मी बीच उद्घाटन खेल (फोटोफिचर सहित)
भञ्ज्याङ न्यूज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तनहुँमा महिला वास्केटबल प्रतियोगिताको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता उद्घाटन अगाडि दमौली बजारमा झाँकी प्रदर्शन गरिएको थियो ।

दमौली स्थित अनसन चौतारीबाट सुरु भएको झाँकी दमौली बजारको परिक्रमा गरी खेलमैदानमा पुगेको थियो ।
झाँकीमा जिल्लाका विभिन्न जातजाति, विभिन्न संघसंस्था, क्लब, विद्यालय लगायत सर्वसाधारणको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए ।

प्रतियोगिताको एक समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका ३६ खेलमध्ये महिला वास्केटबल प्रतियोगिता तनहुँमा गरिएको छ । प्रतियोगिता अर्न्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल खेलिएको नेपाल बास्केटबल संघका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले बताए ।

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री (तीन खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फसमूह ‘ए’मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह ‘बी’मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेको बताइएको छ ।

तीन खेलाडी खेल्नेतर्फसमूह ‘ए’मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह ‘बी’ मा प्रदेश नं १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

आगामि कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबारबाट दैनिक छ वटा खेल सञ्चालन गर्ने तयारी गरिएको छ । फुलकोटतर्फ दैनिक दुइ र थ्री वाई थ्रीतर्फ दैनिक चार खेल सञ्चालन गरिने भएको छ । प्रतियोगिताका लागि खेलाडी, अफिसियलसहित १५६ जना सहभागी भएका छन् ।





प्रतियोगिता उद्घाटन समारोहमा निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी स्वागत गरेका थिए । तस्विर : नारायण खड्का/भञ्ज्याङ










