शुक्लागण्डकीका बाढीपहिरो पीडितलाई विभिन्न संघ संस्थाबाट जस्तापाता र खाद्यन्न सहयोग
राजकुमार आले/भञ्ज्याङ

शुक्लागण्डकी-१० सिम्लेका पहिरो पीडितहरुलाई बाजस्थला महत समाजले जस्तापाता सहयोग प्रदान गरेको छ । गत विहीबार घरमाथिबाट आएको पहिरोबाट विस्थापित भएका ७ घर परिवारलाई महत समाजले एक/एक बण्डल जस्ता पाता सहयोग गरेको समाजका कोषाध्यक्ष विष्णुबहादुर महतले जानकारी दिए । महतका अनुसार समाजले २०५७ सालदेखि जम्मा गर्दै आएको कोषबाट सहयोग उपलब्ध गराइएको हो ।
उक्त टोलमा विहीबार पहिरोमा परेका ६१ बर्षीया खगिमाया भुजेल र नाती १४ बर्षीय विज्ञानलाई जिवित्तै उद्धार गरिएको थियो । पहिरोमा पुरिएका दुबै जनाको शरीरका विभिन्न भागमा चोट लागेको छ । उपचार पश्चात् उनीहरु अहिले छिमेकीको घरमा आराम गरिरहेका छन् । पहिराले उक्त टोलमा सात घरपरिवार विस्थापित भएका छन् ।

स्थानीय टेकबहादुर महत, हुमबहादुर महत, इन्द्रबहादुर माकिम, यमबहादुर माकिम, लक्ष्मी थापा, चेतबहादुर भुजेल, सुमित्रा भुजेलको परिवार पहिरोका कारण विस्थापित भएका हुन् । उनीहरु अहिले आफन्त र छरछिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
वडा नं. १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बाढीपहिरोले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै स्थानीय सरकारले पनि सक्दो सहयोग गर्ने बताए । महत परिवारले आवश्यक परेको समयमा जस्तापाता सहयोग गरेर सराहनीय कार्य गरेको भन्दै समस्या परेको बेलामा सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिए । समाजका अध्यक्ष नरेन्द्र प्रताप महतले सिम्ले टोलमा परेको पिडामा आफुहरुले मलम लगाउने काम मात्र गरेको बताएका थिए ।
त्यस्तै, शुक्लागण्डकी-८ मिलिजुली टोलमा पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । वडा कार्यालयको तर्फबाट पहिरोमा परि खाद्यान्न तथा लत्ताकपडा पुरिएको एक र अतिविपन्न अर्को परिवार गरी दुइ परिवारलाई एक महिनाको लागि पुग्ने खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

राहतमा चामल, खानेतेल, दाल, सावुन लगायतका अत्यावश्यक सामग्री उपलव्ध गराइएको छ । त्यस्तै छिमेकीको घरमा स्थानान्तरण गरिएका ५ परिवारलाई त्रिपाल उपलव्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी ढोरफिर्दिका सभापति विपिन्द्र सेनको उपस्थितिमा पीडित घरपरिवार सदस्य एवं मिलिजुली टोल विकास संस्थाका अध्यक्ष शिव कुमारी श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष रेग्मीले बताए ।










