तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते, मोटरसाइकल पूर्णरुपमा जल्यो

तनहुँ । म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीस्थित पृथ्वी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
म्याग्दे गाउँपालिकाको तल्लो गुणादीमा आज बिहान करिब ८:१५ बजे पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प्र.०२-०५१ प ९३४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक र पछाडि सवार दुबै जना घाइते भएका हुन् ।
मोटरसाइकल चालक धादिङ गल्छि गाउँपालिका–४ का १९ वर्षीय निश्चल अधिकारी दुबै हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन् भने, पछाडि सवार नुवाकोट बिदुर नगरपालिका क्षेत्रका २३ वर्षीय प्रदीप नेपाल बायाँ गाला र नाकमा चोट लागी मध्यम घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किँदा आगलागी भई पूर्णरूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । घाइते दुबै जनालाई रत्नहरी अस्पताल दमौलीमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।










