निर्वाचनका कारण शाहको पेसी स्थगित
भञ्ज्याङ समाचारदाता/दमौली

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा बुधबारका लागि तोकिएको पेसी स्थगित भएको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण बुधबारको सुनुवाई स्थगित भएको हो ।
जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खट्टएिका छन् । निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फा आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए ।










