तनहुँमा मोटरसाइकल र स्कुटर दुर्घटना, दुईजना घाइते

तनहुँमा मंगलबार बिहान दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजना घाइते भएका छन्।
व्यास नगरपालिका–४ आदर्श बोर्डिङ स्कुल अगाडिको भित्री सडक खण्डमा बिहान करिब १०:५० बजे भएको हो। हाईवेबाट वडा नं. ४ तर्फ जाँदै गरेको ग १६ प ४१ नं. को मोटरसाइकलले खेल्ने क्रममा बाटोमा रहेकी ऋषिङ गाउँपालिका–१ झापुटारकी करिब २ वर्षीया बालिकालाई ठक्कर दिएको तनहुँ प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते बालिकालाई प्रारम्भिक उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा थप उपचारका लागि फिस्टेल अस्पताल पोखरा रिफर गरिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
त्यसैगरी आज बिहान करिब १०:४५ बजे व्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वी राजमार्ग खण्डमा अर्को दुर्घटना भएको हो। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १५ प ९५५९ नं. को स्कुटर चालकले सवारी नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा व्यास नगरपालिका–१० बस्ने २८ वर्षीय दिनेश राई घाइते भएका छन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको र उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।










