बन्दीपुरमा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु
भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकाले भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बसोबासीहरुको पहिचान, लगत संकलनपछि जग्गा वितरणका लागि स्थलगत रुपमा नापनक्साको काम सुरु गरेको छ ।
बन्दीपुर गाउँपालिका वडा नं. १ को आयोजनामा मंगलबार गाउँपालिकाका भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अर्न्तर्गतका जग्गाहरुको नापनक्साको काम सुरु गरेको हो । वडा नं. १ नाहाला स्थित भैँसीगोठबाट स्थलगत नापनक्साको काम सुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले एक कार्यक्रमका बिच जग्गा नापी कार्यक्रमको शुभारम्त गरेका छन् । कार्यक्रममा अध्यक्ष अधिकारीले सबैको साथ सहयोग भएमा चाँडै नै गाउँपालिका भित्रका ६ वटै वडाका भूमिहीन तथा अव्यस्थित बसोबासिलाई जग्गाधनि पुर्जा वितरण गरिने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले स्थलगत रुपमा नापनक्साको काममा सबै जनता मिलेर सहयोग गरे छिट्टै नै काम सकिने भएकाले सबै पक्षको साथ सहकार्यकालागि अनुरोध गरेका छन् । गाउँपालिकाले राष्ट्रिय भूमि आयोग तनहुँसंग समन्वय गरेर काम सुरु गर्न सफल भएको र अब थप नापी सम्बन्धिको कार्यमा सहयोग गर्न सबैलाई उनले आग्रह गरेका छन् ।










