एमाले महाधिवेशन : तनहुँ क्षेत्र नं. २ मा सर्वसम्मत, क्षेत्र नं. १ मा निर्वाचन
दमौली : नेकपा एमालेले ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि शनिबार देशैभर निर्वाचन गरेको छ । देशका सबै निर्वाचन क्षेत्रबाट शनिबार प्रतिनिधि छनौटको कार्यक्रम गरिएको छ ।
तनहुँको दुई निर्वाचन क्षेत्रमा शनिबार भएको निर्वाचनअन्तर्गत क्षेत्र नं. २ मा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको छ भने क्षेत्र नं. १ मा निर्वाचन भएको छ ।
क्षेत्र नं. २ को सबै क्लष्टरमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले तनहुँले जनाएको छ । उक्त क्षेत्रमा खुल्ला तर्फ श्रीप्रसाद श्रेष्ठ म्याग्दे, राजेश्वर ढकाल ऋषिङ र विष्णुभक्त सिग्देल घिरिङ, महिला तर्फ बिर्सना श्रेष्ठ शुक्लागण्डकी र विष्णुमाया अधिकारी पराजुली शुक्लागण्डकी तथा ४० वर्ष मुनिका युवा तर्फ उज्वल खनाल भिमाद प्रतिनिधिका रुपमा चयन भएको बताइएको छ ।
यस्तै, क्षेत्र नम्बर १ का सबै पालिकामा प्रतिनिधि चयनका लागि सबै क्लष्टरको मतदान भएको छ । निर्वाचनमा देवघाटमा १२३ मत, आबुँखैरेनीमा ८० मत, बन्दीपुरमा २४८ मत, भानुमा ४४७ मत र व्यास नगरपालिकामा (५ र ६ नम्बर वडा बाहेक) २६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नम्बर १ मा २ खुल्ला प्रतिनिधिको लागि हरिराज कडेंल, श्रीराम कार्की, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, पुर्णबहादुर गुरुङ र प्रेमकुमार रानाको उम्मेदवारी दिएका छन् ।
२ महिला प्रतिनिधिको लागि मनुमाया श्रेष्ठ, देवु विष्ट, रुपा तामाङ र फुलमती थापा उम्मेदबार छन् भने ४० वर्ष मुनिका एक युवा प्रतिनिधिकोलागि मदन तिमिल्सेना, सोमबहादुर तामाङ र सरु कुमालको उम्मेदबारी रहेको छ ।
क्षेत्र नम्बर १ को सबै पालिकाका मत पेटिका जिल्ला पार्टी कार्यालयमा ल्याएर राती ९ बजेपछि मतगणना गरी आइतबार बिहानसम्म मत परिणाम सार्वजनिक गरिने बताइएको छ ।










