नेपाली कांग्रेस तनहुँमा महाधिवेशन प्रतिनिधिको दौड तीव्र, क्षेत्रीय अधिवेशनको कार्यतालिका सार्वजनिक

तनहुँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तनहुँमा महाधिवेशन प्रतिनिधि चयनको गतिविधि तीव्र बनेको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले दुवै निर्वाचन क्षेत्रमा आकांक्षीहरू सक्रिय हुन थालेका छन् ।

मौसम प्रतिकूलताका कारण यसअघि असोज १० गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरी तनहुँमा असोज १२ र १३ गते गर्ने तयारी गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रतिकूल मौसम भएका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

तनहुँमा काठमाडौंलगायत विभिन्न स्थानमा रहेर राजनीति गर्दै आएका नेतादेखि जिल्ला समितिका पदाधिकारी तथा सदस्य, वडा तहका नेताहरू र स्थानीयस्तरका आकांक्षीहरू महाधिवेशन प्रतिनिधिका लागि तयारीमा जुटेका छन् । क्षेत्रीय अधिवेशनले आगामी केन्द्रीय महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्ने भएकाले कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि अहिले प्रतिनिधि छनोटमा केन्द्रित भएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

१० पालिकामा नेतृत्व चयन

तनहुँका चार नगरपालिका र छ गाउँपालिकासहित १० वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । अधिवेशनबाट व्यास नगरपालिकामा तुल्सीराम सापकोटा, शुक्लागण्डकीमा कृष्णप्रसाद रेग्मी, भानुमा राजन श्रेष्ठ र भीमादमा अर्विन श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै ऋषिङ गाउँपालिकामा याम सारु मगर, घिरिङमा सुमन थापा मगर, म्याग्देमा नरसिं राना, बन्दीपुरमा परशुराम अधिकारी, देवघाटमा अर्जुन अधिकारी र आँबुखैरेनीमा सोम दर्लामी सभापतिमा चयन भएका छन् ।

कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार म्याग्दे र देवघाट गाउँपालिकामा मतदानमार्फत नेतृत्व चयन भएको हो भने बाँकी आठ पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको थियो । पालिका तहमा अधिकांश स्थानमा सहमति र सहकार्यबाट नेतृत्व चयन भएको उनले बताएका छन् ।

पालिका अधिवेशन सम्पन्न भएपछि अब प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै जिल्ला अधिवेशनतर्फ पार्टीको ध्यान केन्द्रित भएको छ ।

वडा नेतृत्वमा महिला शून्य

तनहुँ कांग्रेसको वडा अधिवेशनले भने पार्टीको तल्लो तहको नेतृत्वमा महिलाको प्रतिनिधित्वसम्बन्धी अर्को तथ्य पनि देखाएको छ । जिल्लाका १० वटै स्थानीय तहका ८५ वडामै पुरुष सभापति चयन भएका छन् ।

व्यासका १४, शुक्लागण्डकीका १२, भीमादका ९, भानुका १३, देवघाटका ५, आँबुखैरेनीका ६, ऋषिङका ८, घिरिङका ५, म्याग्देका ७ र बन्दीपुरका ६ वडामा सभापति चयन भएका हुन् ।

यसरी वडा तहको नेतृत्वमा एक जना पनि महिला सभापति नआउनुले कांग्रेस तनहुँको संगठनात्मक संरचनामा लैङ्गिक प्रतिनिधित्वको अवस्थाबारे प्रश्न उठाएको छ । वडा तहलाई पार्टी संगठनको आधारभूत संरचना मानिने भएकाले नेतृत्व चयनको यो परिणामलाई पार्टीभित्र महिला सहभागिताको दृष्टिले समेत हेर्न थालिएको छ ।

क्षेत्रीय अधिवेशनको कार्यक्रम सार्वजनिक

क्षेत्रीय अधिवेशनबाट प्रदेश प्रतिनिधि तथा क्षेत्रीय कार्यसमिति चयनको प्रक्रियासमेत अघि बढ्नेछ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्माले प्रकाशित गरेको कार्यक्रमअनुसार असोज १२ गते मतदाता नामावली प्रकाशन, दाबी–विरोध, उम्मेदवारी दर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायत प्रक्रिया पूरा गरिनेछ ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । त्यसपछि उम्मेदवारको प्रथम तथा दोस्रो नामावली प्रकाशन, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

असोज १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । क्षेत्र नं. १ को मतदान दमौली सभाहल र क्षेत्र नं. २ को मतदान बेलचौतारा सामुदायिक भवनमा हुने तय गरिएको छ । मतदान सकिएलगत्तै मतगणना गरी परिणाम घोषणा गर्ने कार्यक्रम छ ।

प्रतिनिधि छनोटसँगै बढ्दैछ आन्तरिक प्रतिस्पर्धा

यस्तै, क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षीको संख्या बढ्दै जाँदा तनहुँ कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा पनि तीव्र हुने देखिएको छ । विभिन्न क्लस्टर तथा समूहबाट आकांक्षीहरूले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

यसअघि वडा र पालिका तहमा बनेका समीकरण, सहमति र नेतृत्व चयनको प्रभाव क्षेत्रीय अधिवेशनमा समेत पर्न सक्ने भएकाले प्रतिनिधि छनोटलाई कांग्रेसको आगामी जिल्ला तथा केन्द्रीय नेतृत्वका लागि महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

तर, क्षेत्रीय अधिवेशनअघिसम्म उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक नभइसकेकाले कुन क्षेत्रमा कति आकांक्षी मैदानमा रहने भन्ने यकिन भइसकेको छैन । उम्मेदवारी दर्ता र नाम फिर्ताको प्रक्रिया पूरा भएपछि मात्रै प्रतिस्पर्धाको वास्तविक चित्र स्पष्ट हुनेछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले वर्षाका कारण प्रभावित क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढाउन स्थानीय अवस्थाअनुसार आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

यससँगै तनहुँ कांग्रेसको अबको राजनीतिक गतिविधि १० पालिकाबाट प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रतर्फ सरेको छ । क्षेत्रीय अधिवेशनबाट चयन हुने प्रतिनिधि र क्षेत्रीय नेतृत्वले असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनमा तनहुँको प्रतिनिधित्व गर्नेछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker