तनहुँमा कांग्रेसको विरोध प्रदर्शन : संविधानलाई जोखिममा पर्न दिंदैनौ – नेता रिजाल (तस्विर र भिडियो सहित)

भञ्ज्याङ न्यूज (तनहुँ)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ओली सरकारको असफलता र कम्यूनिष्टहरुको अहंकारका कारण संविधानलाई जोखिममा पर्न नदिने बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर आयोजना गरेको सरकार विरुद्ध प्रदर्शन कार्यक्रम अन्तरगत तनहुँको दमौलीमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता रिजालले गणतन्त्र अनुसारको व्यवहार गर्न सरकारलाई चेतावनी दिंदै त्यस्तो व्यवहार नगरे गणतन्त्र जस्तो संस्थाको प्रमुख प्रतिनिधि र प्रतिक पुरुषका रुपमा मान्न बाध्य नहुने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल । तस्विर : नारायण खड्का/भञ्ज्याङ

उनले भने, ‘हामी यो संविधान जोगाउँछौ । ओलीको असपलता, कम्यूनिष्टको असफलता, उनको अहंकारका कारणले संविधानलाई जोखिममा पर्न दिदैनौं ।’

सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको भन्दै नेता रिजालले भने, ‘हिजोका महाराजालाई पनि जनताले सहेनन्, आजाका महाराजालाई पनि जनताले सहने छैनन्।’

‘हिजोका महाराजा भन्दा आज ठूला महाराजा, महारानीहरुलाई पनि जनताले ठेगान लगाउने छन्’, नेता रिजालले भने, ‘हिजोका महाराजालाई जनताले खोजी गरेका छैनन्, जहाँ बस्नु भएको छ त्यहाँ बस्नुस, आफ्नो थन्कोमा बस्नुस, हिजोका महाराजाहरु र आजाका महाराजा हुनेहरु जनताले दिएको थनकोमा बस्नुस् ।’

यस्तै, नेता रिजालले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष र सम्मानशिल राजनीतिको बाटोमा हिड्न सचेत गराएका छन् । उनले भने, ‘एउटा दलित नेपालीमाथी सम्मान नगर्ने मान्छे नेपालको प्रधानमन्त्रीको कुर्चीमा बसिरहन सक्दैन, उसले नैतिक अधिकार गुमाउँछ। एउटा महिला माथी सम्मान नगर्ने मानिस मुलुकको ठूलो कार्यकारीको नेतृत्व गर्न सक्दैन ।’

‘हत्या, हिंसा, बलात्कार जस्ता घटनामा संलग्न व्यक्ति जोगाएर राख्ने व्यक्तिलाई शासन गर्ने नैतिक अधिकार खुइलिएर गइसकेको छ’, नेता रिजालले भने, ‘दुइ तिहाईको सरकार लोकप्रिया छैन, जनताले कांग्रेसलाई जनताकै बीचमा खोजेको छ ।’

‘हामीलाई प्रचण्ड, ओली, माधव अथवा झलनाथ कुनचाही ठूलो खाटमा बस्छन् त्यो हाम्रो चिन्ताको विषय होइन । जनताले दिएको मतबाट प्राप्त भएको शासनमा सबै भन्दा ठूलो, सजिलो, विलासितामा कोको ढल्किएर बस्छ त्यसमा हाम्रो चिन्ता छैन’, उनले भने, ‘तर, जनता कोरोना कहरले अप्ठ्यारोमा छन । यो बेला बालुवाटारको कुर्चिमा को बस्ने ? प्रधानमन्त्री को बन्ने ? भन्दै झगडा गर्ने बेला होइन् ।’

उनले भने, ‘प्रचण्डहरु सम्मालिऊ, माधवहरु सम्मालिऊ, ओली सम्मालिऊ, सम्मालिएनौ भने प्रचण्ड, ओली, माधव कसैलाई पनि जनताले फरक ठान्ने छैनन् । जनताले विधिमान्ने सरकार खोजेको छ, जुनदिनसम्म ओली र कम्यूनिष्ट पार्टीले यो संविधान मान्छन र संविधान अनुसार जनताले पनि प्रधानमन्त्रीको सम्मान गर्छन । चुनाव जिते भन्दैमा जनतामाथी मनलाग्दि गर्न पाइदैन आफ्नो कार्यक्रमहरु संसदमा राख्नुपर्छ ।’

गत मंसीर १७ गते निषेधाज्ञा तोड्दै तनहुँको दमौली स्थित बुल्दी पुल उद्घाटनका लागि जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको घटनाको विरोधमा देशैभर विरोध सभा गरिएको छ । संविधानको सम्मानका लागि जनताले मत दिएको बताउँदै नेता रिजालले भने, ‘जनताको मत पाएको सरकार हो, कांग्रेस विपक्षमा काम गर्न तयार छ । तर, जनताले मत रामचन्द्र पौडेलको अपमान गर्नका लागि दिएका होइनन्, जनताले मत लोकतन्त्रका सिद्धान्त माथी अपमान गर्न दिएको होइन, संविधानमाथी खेलवाड गर्न दिएको होइन ।’

यस्तै, सभामा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टर्राईले तनहुँमा कांग्रेसको जरा न उखलिएको बरु झनै मौलाउँदै गएको बताएका छन् । उनले चुनावमा हारेर बुढो रुख ढलेको नठान्न भन्दै बुल्दी पुल प्रकरणले झनै काँग्रेस जागेको बताए । उनले कांग्रेसका पालामा धेरै विकास भएको भन्दै नेकपाले धेरै विकास गरेको भन्दै गरेको दावी तथ्यांकले मिथ्था भएको दाबी गरे । उनले सैयौं विकास योजना आफ्ना पालामा आएको तर नेकपा विजयी भए यता कुनै केन्द्रीय विकास योजना नपरेको बताए ।

कांग्रेस तनहुँका कार्यवहाक सभापति जितप्रकाश आलेको अध्यक्षतामा भएको विरोध सभामा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, तनहुँका सभापति बैकुण्ठ न्यौपाने लगायतका वक्ताहरुले अहिले मुलुकमा मण्डले प्रवृत्ति हाबी भएको, चुनावका बेला जनता समक्षा जेजति बाचा गरेपनि सरकारले सो अनुरुप जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका थिए ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

https://youtu.be/aLzl3aK6cPM

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker