संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपाने गृहजिल्लामाः “संघीयतालाई कानूनी रुपमा बलियो बनाउन लाग्नेछु”

तनहुँ : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने शुक्रबारदेखि गृहजिल्ला तनहुँमा स्वागत, सम्मान र शुभकामना ग्रहणमा व्यस्त छन् । शुक्रबार देवघाट गाउँपालिका, आँवुखैरेनी गाउँपालिका हुँदै बन्दीपुर गाउँपालिका पुगेकी मन्त्री न्यौपाने शनिबार सदरमुकाम दमौली आइपुगेकि थिइन् । उनि आइतबार भानु नगरपालिकाका जनप्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयसंग भेटघाट गरी काठमाडौं फर्कने बताइएको छ ।

मन्त्री भए लगत्तै गृहजिल्ला आइपुगेकी न्यौपानेलाई पालिकाका जनप्रतिनिधि, नेकपा एमालेको जिल्ला कमिटी, नेता तथा कार्यकर्ता, विभिन्न संघ संगठन एवं स्थानीयले स्वागत, सम्मान र शुभकामना व्यक्त गरेका छन् ।

शनिबार नेकपा एमाले तनहुँले पार्टी कार्यालयमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले संघीयतालाई कानुनी रुपमा बलियो बनाउनतर्फ आफु लागिपर्ने बताएकी छन् । संघीयता सुदृढ र कानुनी रुपमा बलियो बनाउन आफु लागिपर्नेेमा उनले जोड दिइन् ।

‘संघीयतालाई कार्यन्वयन गर्नका निम्ति अहिलेसम्म भएका कानुनहरु के–के हुन्, त्यो कानुनलाई सुधार गर्नुपर्ने पक्ष, अब गर्नुपर्ने र गराउनुपर्ने कामहरु के–के हुन् त्यसका लागि विज्ञहरुसंग छलफल गर्नेछौं’, उनले भनिन्, ‘विज्ञहरुसंगको छलफलपछि कानुनी रुपमा संघीयतालाई बलियो बनाउने र आज उठेका प्रश्नहरुलाई समाधान गर्न कसरी अगाडि बढ्न सकिन्छ त्यो निश्कर्षमा पुग्ने छौं ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भनेको कर्मचारी सरुवा गराउने मात्र मन्त्रालय हो भन्ने गलत भाष्य स्थापित भएको बताउदै उनले ३ तहका कर्मचारी व्यवस्थापन, कर्मचारीतन्त्रमा भएका व्यथिति, कमजोरीहरुलाई सच्चाएर अगाडी बढ्नेमा जोड दिइन् । ‘कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्ने, अहिलेसम्म भएका वेथिति विकृतिलाई अन्त्य गर्न मापदण्ड बनाउन कर्मचारीलाई निर्देशन दिइसकेकी छु’, उनले भनिन्, ‘कर्मचारीको सहि व्यवस्थापन गरी सुशासन कायम गर्ने र जनतालाई चुस्तदुरुस्त सेवा प्रवाह गर्ने छौं ।’

राजनीतिक जीवनमा होमिएदेखि व्यक्तिगत स्वार्थ नदेखेको र आजपनि जनताकै निम्ति काम गर्ने उनले बताइन्। ‘देश र जनताको सपथ मैले धेरै पटक खाएको छु, परिवर्तनको सपथ खाएको छु’, मन्त्री न्यौपानेले भनिन्, ‘म मेरो जिल्लामा बसेर फेरी पनि कसम खान्छु कि म निस्वर्थ भएर जनताको हक हितका लागि काम गर्नेछु र वेदाग भएर निस्कनेछु ।’

यस्तै, तनहुँ उद्योग वाणिज्य संघले शनिबार दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् । दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्नेमा उनले जोड दिएकी छन् ।

तनहुँको विकास र समृद्धिमा सबैबीच सहमति आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘दलगत आस्थाभन्दा माथि उठेर काम गर्नुपर्छ । विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो ।’

मन्त्री न्यौपानेले व्यावसायिक हकहितका लागि अनवरुत रुपमा लागिरहनुभएका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘समाज परिवर्तनका लागि लागिरहनुभएका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु, नेपाल सरकारको प्रतिनिधिको हैसियतले यहाँहरुको समस्या समाधानमा म सधैं लागिरहनेछु ।’

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायमा अनेक किसिमका समस्या आउँदा व्यवसायी मर्कामा परेको बताए । संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले व्यावसायिक वातावरण राम्रो बन्न नसके देशको अर्थतन्त्र पनि सुधार हुन समस्या पर्ने हुँदा यस तर्फ सरकार सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शनिबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थल भएकाले यस ठाउँको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने बताइन् ।

धरमपानीमा जनताको साथमा संगठन बनाउँदा धरमपानीले आफूलाई ठूलो गुण लगाएको स्मरण गर्दै न्यौपानेले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाइन् । मन्त्री नहुँदा धरमपानी आसपासको विकासका लागि २५ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन भइसकेको उल्लेख गर्र्दै उनले बन्दीपुर धरमपानी सडकलाई गतवर्ष चार करोड रुपैयाँ र यसवर्ष त्यसभन्दा धेरै बजेट विनियोजन हुने बताइन्।

बन्दीपुर धरमपानी साराङघाटलाई कालोपत्र गरी बन्दीपुरको विकासमा टेवा पुग्ने काम गर्ने मन्त्री न्यौपानेको भनाइ थियो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्ष बलहादुर गुरुङ सहभागी रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker