भानु नगरपालिका : विद्यालयका वार्षिकोत्सव मितव्ययी र बालकेन्द्रित बनाउन अनुरोध

भानु : तनहुँको भानु नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयलाई वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सरल, मितव्ययी, पारदर्शी र बालबालिका केन्द्रित बनाउँदै सञ्चालन गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले हालका वर्षहरूमा विद्यालय वार्षिकोत्सव समारोह महँगो बन्दै गएको, कार्यक्रमका नाममा तडकभडक बढेको र राष्ट्रिय कलाकार आमन्त्रणलगायतका कारण विद्यालयलाई अनावश्यक आर्थिक बोझ परेको भन्दै यस्तो अनुरोध गरेको हो ।

नगरपालिकाको शिक्षा शाखाका अनुसार विद्यालय स्थापना दिवसका अवसरमा आयोजना गरिने वार्षिकोत्सव मूलतः बालबालिकाको सिकाइ, सिर्जनशीलता र अभिभावकसँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यका लागि हुनुपर्ने भए पनि पछिल्ला वर्षहरूमा खर्चिलो र औपचारिकतामै सीमित हुँदै गएको देखिएको छ ।

‘विद्यालयहरूले वार्षिकोत्सवका नाममा अतिथिलाई खादा, मायाको चिनो तथा उपहार दिने अभ्यास बन्द गर्नुपर्नेछ । अतिथि स्वागतका लागि स्थानीय फूलको माला प्रयोग गर्न आग्रह गरिएको छ’, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भने, ‘प्लास्टिक वा रिबनका ब्याजको सट्टा पिपलको पातमा नाम लेखी प्रयोग गर्न सुझाव दिइएको छ, जसले खर्च कटौतीसँगै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने देखिन्छ ।’

उनले भने, वार्षिकोत्सवका क्रममा अनावश्यक बैठक, खाना, खाजा र यातायात खर्च कटौती गर्न तथा अभिभावककेन्द्रित खेलकुद कार्यक्रम सञ्चालन गरी दैनिक जीवनमा प्रयोग हुने सामग्री पुरस्कारस्वरूप प्रदान गर्न निर्देशन दिइएको छ। नगद पुरस्कारको सट्टा स्टेशनरी, किताब, झोला, पोशाक, साबुन, टावेलजस्ता उपयोगी सामग्री दिन प्रोत्साहन गरिएको छ ।

नगरपालिकाले वार्षिकोत्सवलाई एकदिने औपचारिक कार्यक्रममा सीमित नगरी कम्तीमा सप्ताहव्यापी रूपमा बालबालिका केन्द्रित अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक कार्यशाला र प्रदर्शनी आयोजना गर्न सुझाव दिएको छ। यसबाट बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि हुने विश्वास गरिएको छ ।

त्यस्तै, वार्षिकोत्सवको अवसर पारेर विद्यालय प्राङ्गण तथा टोल सरसफाइ, वृक्षरोपण, रक्तदान, सचेतनामूलक कार्यक्रमजस्ता सामाजिक गतिविधिमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायलाई संयुक्त रूपमा सहभागी गराउन भनिएको छ । शिक्षक तथा विद्यार्थीबाट तयार पारिएका शैक्षिक सामग्रीको अनिवार्य प्रदर्शनी राख्न, सांस्कृतिक कार्यक्रममा मौलिक, स्वनिर्मित र स्थानीय भाषा–संस्कृतिमा आधारित गीत–नृत्य प्रस्तुत गर्न र बजारका रेडिमेड गीतसंगीतलाई प्राथमिकता नदिन स्पष्ट गरिएको छ ।

सूचना प्रविधिको प्रयोग गर्दै निमन्त्रणाका लागि कार्ड छाप्नु आवश्यक नपर्ने, फोन, सन्देश वा विद्यालयको आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराउँदा पर्याप्त हुने उल्लेख गरिएको छ। साथै, प्रमुख अतिथि ढिला हुँदा घण्टौँ कुर्ने परम्परा हटाई कार्यक्रम समयमै सञ्चालन गर्न र अतिथिले पनि समयपालन गर्नुपर्नेमा जोड दिइएको छ ।

वार्षिकोत्सव मूल कार्यक्रममा प्रधानाध्यापकले प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदनमा विद्यालयको इतिहास, भौतिक तथा शैक्षिक अवस्था, सिकाइ उपलब्धि, आर्थिक विवरण, सामाजिक तथा वित्तीय परीक्षण, समस्या र आगामी योजनासमेत समेट्न नगरपालिकाको शिक्षा शाखाले अनुरोध गरेको छ ।

नगरपालिकाले विद्यालयहरूले आयोजना गर्ने सीपमूलक तथा परियोजना कार्य जस्तैः दुना–टपरी, च्याउ खेती, हाउस वाइरिङ, स्थानीय जडीबुटी पहिचान, साबुन, सेनिटरी प्याड, अगरबत्ती निर्माणजस्ता कार्यक्रमबाट उत्पादित सामग्री प्रदर्शनीमा राख्न आग्रह गरेको छ ।

विद्यालय वार्षिकोत्सवलाई छोटो, छरितो, मितव्ययी, बालकेन्द्रित, मौलिक र सन्देशमूलक बनाउने रहेको नगर शिक्षा शाखा प्रमुख पौडेलले जनाएका छन् । साथै, स्थानीय आवश्यकता अनुसार यसमा परिमार्जन र सुधार गर्न सकिने भन्दै सरोकारवाला समुदायबाट सुझावसमेत आह्वान गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker