व्यासको अडियो काण्डा : तीन जनालाई पुनः स्पष्टीकरण माग, एक जनाको निलम्बन फुकुवा

दमौली : तनहुँको व्यास नगरपालिकाका कर्मचारीले जनप्रतिनिधिलाई अपशब्द प्रयोग गरेको अडियो प्रकरणमा एक जनाको निलम्बन फुकुवा गरिएको छ । चार जना विरुद्ध स्पष्टीकरण मागिएकामा चारैजनाको स्पष्टीकरण प्राप्त भएपछि सोमबार बसेको कार्यपालिका बैठकले एक जनाको निलम्बन फुकुवा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कर्मचारीहरु कुमारकञ्चन जि.सी, प्रमोद सोती, कृष्णराज घिमिरे र कुशेश्वर गुरुङले मादक पदार्थ सेवन गरी सिङ्गो नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध बोलिएको अडियो सार्वजनिक भएपछि फागुन १९ गते स्पष्टीकरण माग गरिएको थियो ।
गुरुङले घटना प्रति स्वीकार गरी क्षमा मागेकाले निजको हकमा सचेत गराई निलम्बन फुकुवा गर्न र अन्य तीन जना कर्मचारीबाट एकै मिलानको भाषा, हस्तलिखित स्पष्टीकरणमा घटना प्रति अस्वीकार गरी छानविनको माग भई आएकोले एकै स्थानमा बस्ने कर्मचारीहरु बीच फरकफरक स्पष्टीकरण प्राप्त भएकोले पुनः स्पष्टीकरण माग गरी राजनैतिक दल, नागरिक समाजको भावनाको कदर गर्दै कानुन बमोजिमको कारबाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको व्यास नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
बैठकले व्यास नगरपालिकामा भएको राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिहरुसँगको संयुक्त बैठकमा सबै पक्षको राय सुझावमा सरसफाई व्यवस्थापन केन्द्रको स्थायी व्यवस्थापन हुनुपर्दछ भन्ने परामर्श प्राप्त भएकोले सहभागिताका लागि सबै राजनैतिक दललाई धन्यवाद ज्ञापन गरेको छ ।
बैठकले हालको जग्गा खरिदको प्रक्रियालाई टुङ्गोमा पु¥याउन वा वैकल्पिक व्यवस्थापनमा सबै राजनैतिक दलको सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको थापाले बताए ।
उक्त बैठकले वडा नं. ११ गैराबारीमा रहेको निर्माण सम्पन्न चिस्यान केन्द्रको सञ्चालनका लागि पटक पटक सूचना प्रकाशन गरेर सहकारी र कृषि समूहलाई अनुरोध गर्दा समेत कुनै सहकारी र कृषि समूहले सञ्चालनमा सहभागि हुन नआएकाले नगर कार्यपालिकाकै तर्फबाट सञ्चालनको जिम्मेवारी लिने निर्णय गरेको छ ।










