दमौलीमा नमूना पशु अस्पताल निर्माण शुरु

भञ्ज्याङ समाचारदाता/दमौली

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले नमूना पशु अस्पताल निर्माण शुरु गरेको छ । कार्यालयमार्फत बोलपत्र आहृवान गरी निर्मार्ण कम्पनीसँग ठेक्का सम्झौता पश्चात् अस्पतालको भवन निर्माण अघि बढाइएको हो । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी इको बिल्डर्स प्रालि चितवनले निर्माणको जिम्मा पाएको पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणमा सेमी ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ ।’ नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको हो । गण्डकी प्रदेश सरकारको रु दश करोडको लागतमा कार्यालय परिसरमा रहेको ६०५.४४ मिटर क्षेत्रफलमा अस्पताल निर्माण शुरु गरिएको छ ।

अस्पतालको भवन निर्माण पश्चात् आधुनिक उपकरण जडान गरिनेछ । उहाँले भन्नुभयो, ‘व्यवस्थित प्रयोगशाला, भिडियो एक्सरे, एक्सरेको साथसाथै प्रविधिक जनशक्ति व्यवस्था गरिने छ ।’ दमौलीमा पशु अस्पताल बनेपछि छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका आसपास क्षेत्रमा सेवा पुर्‍याउन सकिनेछ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्र विन्दुमा राखिएको डा श्रेष्ठले बताउनुभयो । पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिने छ। देख्दा नदेखिने जुका, माटे जस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुदैन् । उहाँले भन्नुभयो, “रोग पहिचान गरी समयमा औषधि उपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि हुनेछ ।”

बन्दीपुर र व्यासका पशुमा खोप

कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका बन्दिपुर गाउँपालिका र व्यासनगरपालिकामा पशुमा लाग्ने पाँच वटा प्रमुख रोग विरुद्ध पूर्ण रुपमा खोप लगाएको छ । कुखुरामा रानीखेत, गँबारो, बङ्गुरमा हैजा, गाईभैसीमा खोरेत, चर्चरे, भ्यागुते लगायतका रोगका लागि एक लाख ४० हजार ९१ भ्याक्सिन लगाइएको सो कार्यालयले जनाएको छ । जिल्लामा सरकारी तर्फबाट साँढे दुइ लाख र निजीबाट व्यावसायिक किसानले चार लाखको हाराहारीमा खोप लगाएका छन् । उक्त दुइ पालिकालाई खोप कार्यक्रम निरन्तर दिँदै यस वर्षदेखि पृथ्वीराजमार्ग हाइवेक्षेत्रमा रहेका म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका क्षेत्र थप गरी खोप लगाउने योजना रहेको छ । पशुमा देखिने उक्त रोग न्यूनीकरण नहुँदासम्म खोप कार्यलाई निरन्तरता दिइनेछ । उहाँले भन्नुभयो, “खोप दिएका पालिकालाई निरन्तरता दिँदै पछि सिङ्गो जिल्लालाई नै समेटेर पूर्ण खोप घोषण गर्ने लक्ष्य रहेको छ ।” पशुमा लाग्ने महामारीजन्य रोग नियन्त्रणको लागि खोप नै उत्तम विधि भएकोले भाइरसबाट सर्ने रोगलाई खोप बाहेक अरु विकल्प नरहेको डा श्रेष्ठले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker